निजगढ,राष्ट्रिय भूमि आयोग बाराका अध्यक्ष भरतबहादुर घलेले आइतवार निजगढ ४ को कछडिया टोलको सुकुम्बासी बस्तिमा आयोगले थालेको जमिन नापजाँच कार्यको निरीक्षण गर्नुभएको छ ।अध्यक्ष घलेले निजगढ नगरपालिका ४ मा शुक्रवारबाट शुरु भएको जग्गा नापजाँचको कामको निरीक्षण गर्नुभएको हो । आयोगले कछडिया टोलमा जग्गा धनी पूर्जा वितरण प्रयोजनको लागि स्थानीय सुकुम्बासी र अव्यवस्थित बसोबासीले भोगचल गर्दैआएको जमिनको नापजाँच शुरु गरेको थियो ।

निरीक्षणको क्रममा आयोग अध्यक्ष घलेले कुनै प्रभाव र दवावमा नपरी जमिनको नापजाँच गर्न कर्मचारीहरुलाई निर्देशन दिनुभएको थियो । उहाँले जग्गाधनीहरुलाई पनि आफूहरुले भोगचल गरेको जमिनमा मात्रै दाबी गर्न पनि आग्रह गर्नुभएको छ । उहाँले अघिल्लो आगोगले गरेको कामलाई नै वर्तमान आयोगले पनि निरन्तरता दिने बताउनुभयो ।

आयोगबाट खटिएका ४ जना सर्भेक्षक र २ जना अमिनमार्फत उक्त क्षेत्रको जमिनको नापजाँच कार्य भइरहेको निजगढ नगरपालिकाका अमिन अनिल साहले जानकारी दिनुभयो । उहाँले अबको एक साताभित्र सो क्षेत्रको जमिन नापजाँचको काम पुरा हुने र नक्सा तयार पारेर आयोगमा बुझाइने पनि जानकारी दिनुभयो । सो बस्तिमा हाल ५८८ अव्यवस्थित बसोबासी, ७३ भूमिहिन सुकुम्बासी र १ भूमिहिन दलित परिवारको बसोबास रहेको छ । बस्तिमा ०५४ सालबाट सुुकुम्बासीले बसोबास शुरु गरेका हुन ।

Leave a Reply