वीरगञ्ज,जनता समाजवादी पार्टी (जसपा) नेपालको एकताको प्रथम राष्ट्रिय महाधिवेशनमा निर्वाचन प्रक्रिया रोकिएको छ । अध्यक्ष उपेन्द्र यादव बुधवार नै अध्यक्षमा सर्वसम्मत भइसकेको अवस्थामा निर्वाचन समितिले अन्य पदमा प्रक्रिया अघि बढाएको थियो ।तर अब अध्यक्षसहित केन्द्रीय पदाधिकारी र सदस्यहरूसमेत सबैजना सहमतिबाटै टुंगो लगाउने तयारी अनुसार बिहीबार दिउँसो निर्वाचनका सबै कार्यक्रम रोकिएको हो ।

बुधवार नै प्रतिस्पर्धाका लागि उम्मेदवारी दर्ताको सूची सार्वजनिक गरिएको जसपा महाधिवेशनका क्रममा बिहीबार निर्वाचन प्रक्रिया रोकेर सहमतिबाट पदाधिकारी र केन्द्रीय सदस्य छान्ने प्रक्रिया थालिएको हो ।
महाधिवेशनअन्तर्गत निर्वाचन समितिले अध्यक्षमा उपेन्द्र यादवको एकल उम्मेदवारी परेकाले निर्विरोध निर्वाचित भएको घोषणा गरेको थियो ।
एउटा सह–अध्यक्षका लागि लालबाबु राउत, रकम चेम्जोङ र राजकिशोर यादवले उम्मेदवारी दिएका थिए । तर सह–अध्यक्षसहित सबै पद सहमतिमा टुंगो गरिने भएको छ ।‘जसपा महाधिवेशनमा १ बजेदेखि निर्वाचन कार्यक्रम रोकिएको छ । निर्वाचनमा नगएर सहमतिमा जाने भनेर निर्वाचन प्रक्रिया रोकिएको हो’, अध्यक्ष यादवका प्रेस सल्लाहकार महेश चौरसियाले भन्नुभयो, ‘पार्टी अप्ठेरोमा रहेका बेला सहमतिको बाटो रोजिएको हो ।

नयाँ नेतृत्व छान्न भोट नै हाल्ने भनिएको थियो । तर अब पदाधिकारीदेखि केन्द्रीय सदस्यहरू पनि सहमतिमा आउनेछन् । अध्यक्षले जाति, लिङ्ग र क्षेत्र सबै हेरेर निर्णय लिनु हुनेछ ।’महाधिवेशनले नयाँ नेतृत्वका पदाधिकारी र केन्द्रीय सदस्य चयनको जिम्ममा अध्यक्ष उपेन्द्र यादवलाई दिएको छ । अब यादवको नेतृत्वको पदाधिकारीहरूको टिमले सबैको टुंगो लगाउने छ ।तर अब यी सबै पदमा सर्वसम्मतिले नेतृत्व तय गरिने भएको छ । त्यो काम सकेर महाधिवेशन पनि अन्त्य गर्ने तयारी जसपाको छ ।

Leave a Reply