कृष्ण मोहन साह
सेढवा,पर्साको जगरनाथपुरस्थित दशगजा क्षेत्रमा गाडिएको अवस्थामा फेला परेका २ वटा शवको पहिचान खुलेको छ । दुबै शव बारा जिल्लाबासीको भएको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी दीपक भारतीका अनुसार एउटा शव बारा कलैया उपमहानगरपािलका वडा नम्बर ६ का ६० वर्षीय रामएकवाल पडित कुम्हालको र अर्को शव बारा आदर्शकोतवाल गाउँपालिका वडा नम्बर ७ घर भई हाल कलैया उपमहानगरपालिका बस्दै आएका ४० वर्षीय सुरेश ठाकुर लोहारको भएको खुलेको हो । दुबै शवको नारायणी अस्पताल वीरगञ्जमा परीक्षण गरी सकिएको छ । घटनाबारे अनुसन्धान भइरहेको डीएसपी भारतीले बताउनुभयो ।

जगरनाथपुर गाउँपालिका वडा नम्बर १ बिसनपुर्वाबाट भारतको नगरदाहतर्फ जाने बाटोको ओरिया खोला नजिकै नेपाल–भारत सीमाको दशगजास्थित ४२१÷५ नम्बरको सीमास्तम्भ नजिकै गाडिएको अवस्थामा मंगलवार २ वटा शव फेला परेको थियो ।सशस्त्र प्रहरी र भारतीय सीमा सुरक्षा बल एसएसबीको संयुक्त गस्ती टोलीले स्यालले खोतलेको देखेपछि शव गाडिएको स्थानमा उत्खनन गरेको थियो ।


















