निजगढ,क्रियाशील सदस्यताको विवादमा अन्यौल जारी रहेको बेला नेपाल विद्यार्थी संघका नेता विष्णु खडकाले आगामी महाधिवेशनमा निजगढ नगर सभापतीमा उम्मेदवारी दिने बताउनुभएको छ ।
खडकाले स्थानीय एक रेडियोसंग कुरा गर्दै आगामी महाधिवेशनमा आफूले युवाहरुको प्रतिनिधित्व गर्दै नगर सभापती पदमा उम्मेदवारी दिने बताउनुभएको हो । पार्टीमा युवा पुस्तालाई प्रोत्साहन गर्न सभापती पदमा उम्मेदवारी दिन लागेको उहाँको भनाइ छ । उहाँले पार्टीलाई विभिन्न सामाजिक गतिविधिमा पनि गतिशिल तुल्याएर थप मजबुद र एकतावद्ध तुल्याउन सभापतीमा दाबेदारी प्रस्तुत गरेको पनि बताउनुभएको छ ।
सभापती पदमा विजयी बनेको खण्डमा आफूले नगर कार्यसमितिमा १५ प्रतिशत युवाहरुलाई मनोनित गर्ने पनि उहाँले बताउनुभएको छ । विद्यार्थी राजनितिमा सक्रिय निजगढ नगरपालिका वडा नम्बर ९ निवासी खडका नेविसंघ बारा क्षेत्र नम्बर ६ का पुर्वसभापती तथा मिनभवन क्याम्पस काठमाण्डौंको नेविसंघ इकाइ सभापतीसमेत हुनुहुन्छ ।
पार्टीको १४ महाधिवेशन नजिकिदै गर्दा काग्रेशभित्र निजगढ नगर र वडा सभापतिको लागि उम्मेदवारी घोषणा गर्ने क्रम पनि तिव्र बनेको छ । वर्तमान नगर सभापती महेशी कुँवरले यसअघि नै सभापतीको उम्मेदवारी घोषणा गरिसक्नु भएको भने निजगढ नगर सचिब नवराज तिमल्सिना, निजगढ नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष ज्ञानबहहादुर गोले, पुर्वसभापती टेकबहादुर भण्डारीले पनि सभापती पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ । त्यसैगरी निजगढ वडा नम्बर ८ को वडा सभापती पदमा नरेश घिमिरे र रमेश लामा, वडा नम्बर ९ को सभापतिमा सागर तामाङ्गले पनि सामाजिक सञ्जालमार्फत आआफ्नो उम्मेदवारी घोषणा गर्नु भएको छ ।


















