वीरगंज २६ कार्तिक ।
पर्सा क्षेत्र नम्बर ४ मा सत्तागठबन्धनबाट प्रतिनिधीसभा सदस्यका साझा उम्मेदवार रमेश रिजालले लोकतन्त्र र संविधानको रक्षाका लागि कांग्रेस नेतृत्वको गठबन्धनलाई मत दिन आग्रह गरेका छन् ।
ठोरी गाउंपालिका वडा नम्वर २ मा भएको रात्री सभालाई सम्बोधन गर्दै उनले मधेस विरोधी एमाले र सत्ता स्वार्थका लागि उसंग अपबित्र गठबन्धन गरेको जसपाबाट मधेस मात्र नभइ देश पनि खतरामा रहेकाले ती प्रगितमनकारीहरुलाई यसपालि परास्त गर्नु पर्नेमा जोड दिए ।
आफू जिते पनि हारे पनि संधै यहींका जनताका माझमा रहेको भन्दै उनले यहांको समस्या आफ्नो समस्या भएकाले त्यसको समाधानका लागि पनि आफू जहिल्यै लागि परेको बताए । नेता रिजालले मतदाताको भरोसा टुट्न नदिने गरी काम गर्ने प्रतिबद्धता जनाउंदै यस पटक निर्वाचनमा एक जुट भएर साथ दिन आग्रह गरे ।
मतदातासंग रिजालले भने,‘म तपाईहरुको भरोसालाई कहिले पनि टुट्न दिन्न, बांचुन्जेल पर्सा ४ को विकास र जनताको सेवामा समर्पित रहनेछु, यसपालि अवसर दिनु भयो भने यस क्षेत्रका लागि अहिलेसम्म नभएका नमूना कामहरु गरेर देखाउछु, यो मेरो वाचा भयो ।
क्षेत्रका हरेक पालिकाका हरेक वडा र टोलहरुमा चुनावी घरदैलोका क्रममा पुग्दा स्थानीय र मतदाताहरुले स्वर्फूत रुपमा स्वागत र समर्थन गरिरहेको र यसले आफूलाई थप उर्जा प्राप्त भइरहेको रिजालले बताए ।
ठोरी पुगेका उम्मेद्वार रिजाल लगायत नेताहरुलाई स्थानीयले फुलमाला लगाएर स्वागत गरेका थिए ।
रात्रीसभामा कांग्रेसबाटै प्रदेशसभा सदस्य उम्मेदवार शंकर चौधरी, कांग्रेस मधेस प्रदेश महामन्त्री बृहस्पतीकृष्ण श्रेष्ठ, माओवादी केन्द्रका नेता पिएल श्रेष्ठ, कांग्रेस क्षेत्रीय सभापति श्रीकान्त यादव तथा गठबन्धनका नेता कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको थियो ।