मौलापुर,
राजकुमार यादव
महालेखा परिक्षकको कार्यालयले रौतहट जिल्लाका १८ स्थानीय तहको लेखा परीक्षणको नतिजा सार्वजनिक गरेको छ ।
मलेनिकाको नतिजा अनुरूप जिल्लामा सबैभन्दा कम बेरुजू गुजरा नगरपालिका र सबैभन्दा बढी राजपुर नगरपालिकामा देखिएको छ । लेखा प्रणाली अनुरूप ऐन कानुनी खर्च नगर्ने प्रवृतिलाई वेरुजु भन्ने गरिन्छ । गुजरा नगरपालिकामा ३४ करोड ५६ लाख ७६ हजार र सबैभन्दा बढी भनिएको राजपुर नगरपालिका ९६ करोड २६ लाख ४२ हजार रूपैया बेरुजु पाइएको छ ।त्यसैगरी चन्द्रपुर नगरपालिकाको ९० करोड ८ लाख ९५ हजार बेरुजु सार्वजनिक भएको छ । १८ स्थानीय तहमध्ये अधिकाश पालिकामा इन्धन, तलब, भत्ता, गोष्ठी र काम पुरा नहुदै उपभोक्ता समितिलाई भुक्तानी गरेको रकम बेरुजु ठहरेको हो ।
यसरी प्रकृया पुरा नगरी खर्च गर्नेमा ईशनाथ नगरपालिकाको अद्यावधिक बेरुजु ७५ करोड ५४ लाख ५८ हजार, कटहरिया नगरपालिका ७१ करोड ४४ लाख ७९ हजार, दुर्गा भगवती गाउँपालिका ७१ करोड ३७ लाख ३७ हजार, गढीमाई नगरपालिका ७१ करोड १८ लाख ३९ हजार, राजदेवी नगरपालिकाको ७० करोड ९८ लाख ८३ हजार, बृन्दावन नगरपालिकाको ६९ करोड ९२ लाख ८५ हजार, गरुडा नगरपालिका ६९ करोड ८२ लाख ९ हजार, फतुवा बिजयपुर नगरपालिका ६७ करोड ९३ लाख ३२ हजार, मौलापुर नगरपालिका ६० करोड ३५ लाख ४५ हजार, यमुनामाई गाउँपालिका ५७ करोड ३६ लाख २ हजार, बौधीमाई नगरपालिकाको ५५ करोड ७ लाख ७३ हजार, देवाही गोनाही नगरपालिकाको ५२ करोड ४४ लाख ४० हजार, गौर नगरपालिका ४४ करोड २२ लाख २५ हजार, माधवनारायण नगरपालिका ४४ करोड १९ लाख १३ हजार र परोहा नगरपालिकाको ३८ करोड ३१ लाख ८९ हजार रूपैयाँ बेरुजु रहेको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।
महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख गरिएको बेरुजुको प्रकृतिलाई विश्लेषण गर्दा पालिका अनुसार फरक फरक कारणले बेरुजु निस्केको देखिन्छ । कतिपय अवस्थामा एउटै प्रकृतिको काममा कुनै पालिकामा बेरुजु देखिएको छ भने कुनैमा देखिएको छैन । यस प्रकारको दोहोर प्रवृतिका कारण कतिपय अवस्थामा अन्यौलता सृजना गरेको पाइन्छ ।वित्तीय जोखिमको सूचकको रुपमा रहेको बेरुजुको मात्रा बढ्दै जानु स्थानीय सरकारको सकारात्मक छविका लागि राम्रो विषय होइन । कतिपय अवस्थामा सजगता अपनाउँदा अपनाउँदै पनि बेरुजु आएको छ भने कहिँ कतै लापरबाही र सार्वजनिक स्रोतको दोहन गर्ने प्रवृतिका कारण पनि बेरुजु बढेको छ ।महालेखाको सार्वजनिक प्रतिवेदन अनुसार रौतहटको १८ स्थानीय तहमा कुल ११ अर्ब ४१ करोड ११ लाख २२ हजार बेरुजु देखिएको छ ।

















