११ मंसिर, काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजारमा गिरावटले निरन्तरता पाएको छ । नेप्से परिसूचक ८.५७ अंकले घटेर २ हजार ६२८ अंकमा झरेको छ । अघिल्लो दिन बिहीबार पनि बजार १०.८९ अंकले घटेको थियो ।
बजार घटेसँगै कारोबार रकमसमेत खुम्चिएको छ । बिहीबार ५ अर्ब ४८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा शुक्रबार ४ अर्ब ८२ करोड रुपैयाँको मात्रै कारोबार भएको छ ।
शुक्रबार कारोबारमा आएका कम्पनीमध्ये ५९ वटाको सेयर मूल्य बढेको छ भने २०३ वटाको घटेको छ । त्यस्तै, १७ कम्पनीको मूल्यमा कुनै परिवर्तन भएन ।
समग्र बजार ओरालो लागे पनि बैंकिङ र निर्जीवन बीमा समूहमा भने सामान्य वृद्धि देखिएको छ । बैंकिङ समूह ०।०७ प्रतिशत र निर्जीवन बीमा समूह ०.३० प्रतिशतले बढेका छन् ।
अन्य सबै समूहका सूचक घटेका छन् । विकास बैंक समूह ०.७६ प्रतिशत, वित्त समूह ०.०४ प्रतिशत, होटल तथा पर्यटन ०.१४ प्रतिशत, जलविद्युत् ०.७४ प्रतिशत र लगानी समूह ०.४१ प्रतिशतले घटेका छन् ।
त्यसैगरी जीवन बीमा समूह ०.३० प्रतिशत, उत्पादन तथा प्रशोधन ०.६५ प्रतिशत, लघुवित्त ०.५२ प्रतिशत, अन्य समूह ०.४४ प्रतिशत र व्यापार समूह ०.१७ प्रतिशतले ओरालो लागेका छन् ।
एनआईसी एसिया बैंकको सेयर मूल्यमा सबैभन्दा धेरै वृद्धि भएको छ । बैंकको मूल्य ६.०८ प्रतिशतले बढेको हो । मान्डु हाइड्रोपावरको ४.७६ प्रतिशत, बेस्ट फाइनान्सको ४.३० प्रतिशत, उपकार लघुवित्तको ३.१३ प्रतिशत र माथिल्लो मैलुङखोला जलविद्युत् कम्पनीको ३.०६ प्रतिशतले मूल्य बढेको छ ।
यता, सोपान फर्मास्युटिकल्सको सेयर मूल्य सबैभन्दा धेरै ५.३७ प्रतिशतले घटेको छ । युनिक नेपाल लघुवित्तको ४.६४ प्रतिशत, बेनी हाइड्रोपावरको ४.२७ प्रतिशत, भुजुङ हाइड्रोपावरको ४.२१ प्रतिशत, स्वस्तिक लघुवित्तको ३.९४ प्रतिशत र बोटलर्स नेपाल तराईको ३.४९ प्रतिशतले मूल्य घटेको छ ।
कारोबार रकमका आधारमा शुक्रबार लक्ष्मी सनराइज बैंक पहिलो स्थानमा रहेको छ । त्यसपछि क्रमशः ग्लोबल आईएमई बैंक, हिमालय ऊर्जा विकास कम्पनी, एनआईसी एसिया बैंक, घलेम्दी हाइड्रोपावर, पिपुल्स हाइड्रोपावर, रिलायन्स स्पिनिङ मिल्स, सानिमा माई हाइड्रोपावर, एनएमबी बैंक र साहस ऊर्जा रहेका छन् ।

















