काठमाण्डौ – कान्ति राजमार्ग बिहीवारदेखि दिउँसोको समयमा ४५ दिनसम्म बन्द हुनेभएको छ । ललितपुरको काल्चे खण्डको सडक चौडा गर्नका लागि आउँदो वैशाख १५ गतेसम्म कान्ति राजमार्ग बन्द हुन लागेको कान्ति राजमार्ग सडक योजनाका ईञ्जिनियर रवीन्द्र महर्जनले जानकारी दिनुभयो ।

यो सडक ललितपुरको टीकाभैरवबाट तीनपाने भञ्ज्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा पुग्छ । उहाँका अनुसार काल्चे खण्ड बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म बन्द हुनेछ । यो खण्ड अन्तर्गत झण्डै डेढ किलोमिटर सडक खण्डको साँघुरो ठाउँमा सडक चौडा गर्न लागिएको हो । सडकमाथिका कडा चट्टान काट्ने निर्णय भएसँगै काम सुरु भएको र काम सक्न ४५ दिन लाग्ने योजनाको अनुमान छ ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठको अध्यक्षतामा फागुन १६ गते बसेको बैठकले कान्ति राजमार्ग खण्डमा एम्बुलेन्सलगायत अन्य अत्यावश्यक सेवाका गाडीलाई सञ्चालन गर्न सहजीकरण गर्ने निर्णयसमेत गरेको छ । वि.सं २०१३ मा शिलान्यास गरिएको काठमाण्डौलाई हेटौँडासँग जोड्ने सडक मार्गको पाँच किलोमिटर भाग अझै कालोपत्रे हुन बाँकी रहेको ईञ्जिनियर महर्जनले बताउनुभयो ।

सरकारले प्राथमिकता नदिँदा र विगतमा निर्माणको जिम्मा लिएका ठेकेदार कम्पनीले ढिलासुस्ती गरेर काम गर्दा यो सडक निर्माण ६७ वर्षदेखि निर्माणाधीन अवस्थामै छ । कान्ति राजमार्गको हेटौँडा बुद्धचोकबाट ललितपुरको सातदोबाटोसम्म लम्बाइ ९२ किलोमिटर छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here