निजगढ,वन क्षेत्रमा ताल्चा लगाएर विरुवा संरक्षण गरेको समाचार सुन्दा तपाईलाई शायद आश्चर्य लाग्न पनि सक्ला । तर, आश्चर्य मान्नु पर्दैन, निजगढ नगरपालिका वडा नम्बर ९ स्थित आदर्श सदावहार सामुदायिक वन उपभोक्ता समूहले वनमा बार र गेटमा ताल्चा लगाएर विरुवाको संरक्षण गर्दैआएको छ ।
जडिबुटी पकेट क्षेत्रमा २ साताअघि रोपिएका विरुवा संरक्षण गर्न समूहले वनको चारैतर्फबाट काँडे तारले बार बारेर गेटमा ताल्चा लगाउदैआएको हो ।‘भर्खर रोपिएका जडिबुटीका विरुवा हुर्किदैछन, वन समूहका अध्यक्ष रामप्रसाद पाण्डेले भन्नुभयो, घाँसे÷दाउरे र चरिचरणबाट जोगाउन बार र ढोकामा ताल्चा लगाएर संरक्षण हुदैआएको छ ।’ उहाँले भन्नुभयो– बिहान साँचो बोकेर जान्छौं, विरुवाको गोडमेल र हेरचाहपछि फेरि ताल्चा बन्द गरेर घर फर्किन्छौं ।’
उचित संरक्षण र हेरचाह बिना विरुवा हुर्काउन र जोगाउ मुस्किल पर्ने भएकोले वनमा बार बारेर गेटमा ताल्चा लगाउने गरिएको उहाँले सुनाउनुभयो ।
वन समूहका उपाध्यक्ष रामकुमार श्रेष्ठका अनुसार डिभिजन वन कार्यालय बारा र सामुदायिक वन उपभोक्ता महासंघ बाराको सहोगमा समूहको १.६३ हेक्टर क्षेत्रमा ‘जडिबुटी पकेट क्षेत्र विस्तार’ कार्यक्रमअन्तर्गत अमला, अस्वगन्धा, तेजपत्ता, हर्रो, बर्रो र पारिजातलगायत विभिन्न प्रजातिका ३ हजार ७ सय ५० भन्दा बढी विरुवा रोपिएका छन ।
चोरी कटानी र चरिचरणले हैसियत बिग्रिएको सो वन क्षेत्र बेल र राजबिच्छे प्रजातिका जडिबुटीका रुखहरु पहिलेदेखि रहेको उपाध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । कार्यक्रम अन्तर्गत १ सयभन्दा बढी संख्यामा रैथाने जडिबुटीका विरुवाको पनि संरक्षण गरिएको उहाँले जानकारी दिनुभयो ।
डिभिजन वन कार्यालय बाराका डिएफओ राजिव झाले विरुवा संरक्षणमा आदर्श सदावहार वन समूहले अनुकरणीय काम गरेको बताउनुभएको छ । ‘रोप्न त धेरै ठाउँमा रोपिएका छन, उहाँले भन्नुभयो, तर यसरी घेराबारा र गेटमा ताल्छा नै लगाएर संरक्षण गर्ने कार्य भने अन्त कतै भएको पाइदैन ।’ उहाँले वृक्षारोपण गर्नुभन्दा पनि संरक्षण कसरी गरिन्छ भन्ने कुरा महत्वपूर्ण भएको पनि बताउनुभयो ।
पूर्वपश्चिम राजमार्गसंग सीमा जोडिएको सो क्षेत्रलाई वन समूहले जडिबुटीको नमूना पकेट क्षेत्रको रुपमा विकास गर्ने योजना बनाएको अध्यक्ष पाण्डेले बताउनुभएको छ । उहाँले लोपउन्मुख र बहुउपयोगी प्रजातिका वनस्पतिको संरक्षणले वन, वातावरण र मानव स्वास्थ्य प्रबद्र्धनमा पनि टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
समूहले २ सय ३२ हेक्टर जंगल सामुदायिक वनको रुपमा संरक्षण गर्दैआएको छ ।
















