निजगढ,बाराको पथलैयामा सोत नखुलेको खुद्रा सामानसहित एउटा ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ ।
विशेष सूचनाको आधारमा जेठ २२ गते मंगलवार बिहान पौने छ बजे पथलैया प्रहरीले अन्दाजी २३ लाख ८५ हजार रुपैयाँ बराबरको खुद्रा सामान (साइकल पार्ट, अटो पार्ट, बिस्कुट, पेन) सहित ट्रक नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बारा कलैयाका प्रहरी निरीक्षक बिरेन्द्रराज गुरुङले जानकारी दिनुभयो ।वीरगञ्जबाट चितवनतर्फ जाँदै गरेको बा ३ ख ७९११ नम्बरको ट्रक प्रहरीले चेक जाँच गर्दा बिल भरपाई भन्दा बढीको स्रोत नखुलेको सामान फेला पारेको थियो । उक्त ट्रकलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया पठाइएको प्रहरीले जानकारी दिएको छ ।त्यसैगरी महोत्तरी, सम्सी गाउँपालिका १ स्थित प्रहरी चौकी सम्सीबाट खटिएको प्रहरीले स्रोत नखुलेको २ लाख २१ हजार भारतीय रूपैयाँसहित सम्सीबाट गौशलातर्फ जाँदै गरेको प्र २–०२–००२ प २९८३ नम्बरको मोटरसाइकलमा सवार गौशाला नगरपालिका– ११ बस्ने ४१ वर्षीय रमेशकुमार यादव र सोनमा गाउँपालिका– २ बस्ने ४१ वर्षीय मुकेश कुमार यादवलाई मंगलवार राति प्रहरीले पक्राउ गरेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

वीरगञ्जबाट हुण्डीको ५ लाख ९० हजारसहित एकजना भारतीय नागरिक पक्राउ
वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले हुण्डीको रकमसहित एक जनालाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ बाईपास सडकखण्डबाट प्रहरीले एक जनालाई पक्राउ गरेको हो ।वीरगञ्जको बसपार्कबाट प्रतिमा चोकतर्फ जाँदै गरेको पैदल यात्रुलाई शंकास्पद अवस्थामा देखेपछि चेकजाँच गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दिपक भारतीले जानकारी दिनुभयो ।उहाँकाअनुसार पैदल हिँड्दै गरेको अवस्थामा भारत बिहार राज्य पुर्वी चम्पारण रक्सौल वडा नम्बर २० कुम्हरिया टोल बस्ने २९ वर्षीय बबलु राज रौनियारलाई पक्राउ गरिएको हो ।बबलुले बोकेको कालो झोलाभित्र एक हजार दरको नेपाली नोट ४१५ थान (४ लाख १५ हजार), नेपाली ५ सय दरको नोट ३४० थान (एक लाख ७० हजार) र नेपाली ५० दरको नोट १ सय थान (५० हजार) गरी जम्मा ५ लाख ९० हजार रकम फेला परेको प्रहरी नायब उपरीक्षक भारतीले बताउनुभयो ।बबलुलाई नियन्त्रणमा लिएर बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ विरुद्धको कसूरमा थप अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो ।

Leave a Reply