सिमरा,जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको १९ पदको लागि बुधवार ५४ जनाले मनोनयन दर्ता गराएका छन् ।

असार ११ गते हुने निर्वाचनको कार्यतालिका अनुसार उम्मेदवारले मनोनयन दर्ता गराएका हुन् । संघको अध्यक्षका लागि भने मोहनप्रसाद शर्माको एकल उम्मेदवारी परेको छ । संघको विधानमा बरिष्ठ उपाध्यक्षले मात्रै अध्यक्षमा उम्मेदवारी दिन सक्ने प्रावधान रहेकाले शर्माको मात्रै उम्मेदवारी परेको हो । यसअघि बरिष्ठ उपाध्यक्ष रहेका शर्माको एकल उम्मेदवारी परेसँगै संघको अध्यक्षमा उहाँ निर्वाचित हुने निश्चित छ ।

संघको बरिष्ठ उपाध्यक्षको लागि मनोजकुमार गुप्ता, रामचन्द्र पौडेल, ओमप्रकाश गुप्ता, अनिलकुमार साह र दिनेशप्रसाद कलवार गरी पाँच जनाको उम्मेदवारी परेको छ ।

अध्यक्ष बाहेक अन्य सात जना पदाधिकारीको लागि २५ जनाको उम्मेदवारी परेको छ । अध्यक्षसहित संघको पदाधिकारीमा बरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष वाणिज्य, उपाध्यक्ष उद्योग, महासचिव, सचिव वाणिज्य र सचिव उद्योग पदमा एक(एक जना निर्वाचित हुने छन् । एक जना निर्वाचित हुने वाणिज्यतर्फको उपाध्यक्षका लागि पाँच जनाले उम्मेदवारी दर्ता गराएका छन् । वाणिज्य तर्फको उपाध्यक्षका लागि अर्जुन लम्साल, मोहन साह कलवार, रामनारायण प्रसाद साह, गजेन्द्रप्रसाद गुप्ता र संतोष गुप्ताले उम्मेदवारी दिनुभएको हो । उद्योग उपाध्यक्षतर्फ दिपक गुप्ता, विजयकुमार साह र राजुराज गिरीले मनोनयन दर्ता गराउनु भएको छ । संघको महासचिवमा तीन जनाको उम्मेदवारी परेको छ । महासचिवको लागि अनिलकुमार तिवारी, लक्ष्मण अधिकारी र प्रकाश गिरीले उम्मेदवारी दर्ता गराउनु भएको छ ।

यसैगरी कोषाध्यक्षमा रामबाबु कलवार र अमरप्रसाद यादवको उम्मेदवारी दर्ता भएको छ । संघको वाणिज्यतर्फको सचिवका लागि रमेशप्रसाद खरेल, गीताकुमारी शर्मा, श्यामबाबु साह, शान्ताकुमारी बजगाई (रिना), विष्णुप्रसाद अधिकारी र कृष्णप्रसाद साहको उम्मेदवारी परेको छ ।

वाणिज्यतर्फको सचिवमा ६ जनाको उम्मेदवारी दर्ता हुँदा उद्योगतर्फको सचिव भने निर्विरोध हुने भएका छन् । उद्योगतर्फ सचिवका लागि मुकेशप्रसाद साहको एकल उम्मेदवारी परेको छ । यता वाणिज्यतर्फको सात सदस्यका लागि २३ जनाको उम्मेदवारी परेको छ भने उद्योगतर्फको तीन सदस्यका लागि पाँच जनाको उम्मेदवारी परेको छ । एक जना निर्वाचित हुने एशोसियटतर्फको सदस्य पदमा भने कसैको उम्मेदवारी परेन ।

कार्यसमितिमा तीन वर्षे कार्यकालका लागि उम्मेदवारहरुले मनोनयन दर्ता गरेसँगै संघको चुनावी माहोल सुरु भएको छ । अध्यक्ष निर्विरोध भईसकेकाले बरिष्ठ उपाध्यक्षका उम्मेदवार मध्ये केहीको नेतृत्वमा छुट्टा(छुट्टै प्यानल बन्ने देखिएको छ । बरिष्ठ उपाध्यक्षको लागि मनोजकुमार गुप्ता, रामचन्द्र पौडेल र ओमप्रकाश गुप्ताको नाम चर्चामा छ । तर कोषाध्यक्षमा दुई जनाको मात्रै उम्मेदवारी परेकाले तीन वटा प्यानल हुने सम्भावना भने कम छ ।

निर्वाचनमा एक हजार तीन सयभन्दा बढी मतदाता सहभागी हुँदै छन् । जेठ २५ गते सम्पन्न संघको दोस्रो अधिवेशन र तेस्रो साधारण सभाबाट सर्वसम्मत नेतृत्व चयन हुन नसकेपछि निर्वाचन प्रक्रियाअघि बढेको हो ।

Leave a Reply