पुष्पराज खतिवडा

मनहर्वा,जीतपुरसिमरा उपमहानगरपालिकामा ताताबन्दी गरेको आरोपमा पक्राउ पर्नुभएका वडा नम्बर ७ का वडा अध्यक्ष सुनिल गुप्तालाई रिहा गरेसंगै त्रिभुवन राजपथमा आइतवार दिउसोबाट सुरु भएको चक्काजाम साँझ अबेला सुचारु भएको छ । बारा क्षेत्र नं‍. ४ को निर्वाचन अधिकृतको कार्यालयसमेत रहेको नगरपालिकामा तालाबन्दी गरेपछि दिउँसो पक्राउ परेका वडा अध्यक्ष सुनिल गुप्तालाई प्रहरीले रिहा गरेपछि राजमार्गको अवरोध खुलेको छ ।

स्थानीय समर्थकहरुले रिहाइको माग गर्दै त्रिभुवन राजमार्ग नै अवरुद्ध गरेपछि प्रहरीले स्थितिलाई साम्य पार्न वडा अध्यक्ष गुप्तालाई रिहा गरेको हो ।

निर्वाचन अधिकृतको कार्यालय समेत रहको जीतपुरसिमरा उपमहानगरपालिका कार्यालयमा तालाबन्दी गरेको आरोपमा वडा अध्यक्ष गुप्तालाई प्रहरीले दिउँसो पक्राउ गरेको थियो ।

निर्वाचन अधिकृतको कार्यालयमा तालाबन्दी गरेकोले गुप्तालाई पक्राउ गरिएकोमा पछि छोडिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिनुभयो ।

जीतपुरसिमरा वडा नम्बर ७ का वडाध्यक्षलाई मुक्त गरेपछि स्थानीयले जीतपुरमा गरेको चक्काजाम ५ घण्टापछि खुलेको थियो ।

प्रहरीले उपमहानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष गुप्तालाई पक्राउ गरेको विरोधमा आइतबार दिउँसो २ बजेदेखि भएको चक्काजाम साँझ अबेला मात्रै खुलेको हो । वडा अध्यक्ष गुप्ता पक्राउ परेको विरोधमा स्थानीयले त्रिभुवन राजपथमा अवरोध गरेपछि सयौं सवारी र ढुवानीका साधनहरु अलपत्र परेका थिए ।

आन्दोलनरत पक्षको अवरोध हटेसँगै जाममा परेका यात्रुवहाक र ढुवानीका साधनहरु गन्तव्यतर्फ लागेका छन् । स्थानीयले सडकमा टायर बालेर नारावाजी गर्दै चक्काजाम गरेपछि सवारी र ढुवानीका साधनहरु जाममा परेका परेका थिए । जनताको कुरा नसुनेको भन्दै नगरप्रमुख राजन पौडेलप्रति आक्रोशित स्थानीयले वडा अध्यक्ष गुप्तालाई नछाडेसम्म आन्दोलन नरोक्ने अडान राखेका थिए ।

नगरपालिकाका कार्यालयले बजार क्षेत्रको फोहोर व्यवस्थापनमा चासो नदेखाएको र डेङ्गु नियन्त्रणको लागि लामखुट्टे मार्ने औषधि नछर्केको भन्दै वडा अध्यक्ष गुप्ताले आइतवार निर्वाचन कार्यालयको कार्यस्थल समेत रहेको नगरपालिका कार्यालयमा तालाबन्दी गरेका थिए । वडाध्यक्ष गुप्तालाई छाड्ने र वडा अध्यक्षले पनि यस्तो कार्य नगर्ने सहमति पश्चात आन्दोलन साम्य भएको ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो ।

कार्यालयमा तालाबन्दी गरेर दैनिक कामकाज अवरोध गरेको भन्दै गुप्ता सहित २ जनालाई प्रहरीले पक्राउ गरेको विरोधमा स्थानीयले सडक तताएका हुन् । फोहोर नउठाएको विषय लिएर वडावासी सहित वडाध्यक्ष गुप्ता कार्यालय समय सुरु हुने वित्तिकै पालिका पुगेका थिए । महिनौंदेखि जीतपुर बजार बाहेककाभित्री वस्तिको फोहोर नउठाएको, नाला सफा नगरेको र लामखुट्टे मार्ने औषधी नछरेको कारण डेंगु रोगीको संख्या बढेको गुनासो लिएर जाँदा नगर प्रमुखले वेवास्ता गरेको उनीहरुको आरोप छ ।

जनताका कुरा सुन्नुको सट्टा नगर प्रमुख पौडेल निर्वाचन कार्यालय रहेको सोही भवनको चौथो तल्लामा गइ बसेर जनतालाई घण्टौं कुराएपछि बाध्य भएर तालाबन्दी गरेको आन्दोलनमा सहभागी गंगा कंडेलले बताउनुभयो । तालाबन्दी गरेर नारावाजी गर्दैगर्दा उपमेयर भोला अधिकारीसहित प्रमुख प्रशासकीय अधिकृतले माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएसँगै ताला खुले पनि प्रहरीले अध्यक्ष सहित २ जनालाई पक्राउ गरेपछि सडकमा उत्रिनु परेको वडा सदस्य ललितादेबी पासवानको भनाइ छ ।

नगरपालिकाको कार्यालय रहेको जीतपुरलाई सफा बनाउन माग गर्दा प्रहरी थुनामा राख्नु न्याय संगत नभएको भन्दै आदोलित उनीहरुले नगर प्रमुख पौडेल विरुद्ध नारावाजी गरेका थिए । यसबारे नगर प्रमुख पौडेलले भने निर्वाचनका गतिविधि बिथोल्न गरिएको नियोजित कार्य भन्दै यसबारे निर्वाचन कार्यालयको ध्यानाकर्षण हुनुपर्ने बताउनुभयो ।

पालिकामा भएको तालाबन्दीले निर्वाचन कार्यालयको काममा भने कुनै असर नपरेको निर्वाचन कार्यालय जीतपुरसिमराले जनाएको छ ।

Leave a Reply