सिमरा,जीतपुरसिमरा उपमहानगरपालिकाको भोगचलनमा रहेको सार्वजनिक जग्गामा कलैया उपमहानगरले हस्तक्षेप गरेपछि दुई पालिकाबीच द्वन्द्व सुरु भएको छ ।जीतपुरसिमरा उपमहानगर वडा नम्बर १८ मा आधारभूत स्वास्थ्य चौकी रहेको जग्गामा वडा कार्यालयले घेराबारा गर्ने क्रममा कलैया उपमहानगरले नगर प्रहरी खटाएर हस्तक्षेप गरेको हो ।
साविक मनहर्वा गाविस वडा नम्बर ७ को कित्ता नम्बर ७१ को ३ बिघा १० कट्ठा जग्गा तत्कालीन गाउँ पञ्चायत, गढीमाई नगरपालिका हुँदै अहिले जीतपुरसिमराले भोगचलन गर्दै आएको छ ।

सो जग्गामा गत शुक्रवार कलैया उपमहानगरले एक्कासी नगर प्रहरी खटाएर जग्गा खाली गर्न सुरु गरेको थियो । जीतपुरसिमरा वडा नम्बर १८ का वडा अध्यक्ष चतुरबाबु वाग्लेले कलैया उपमहानगरका प्रमुख विनोद साहले जीतपुरसिमरालाई जानकारी नगराइ एक्कासी नगर प्रहरी खटाएर जग्गा कब्जा गर्न खोजेको आरोप लगाउनुभएको छ ।
यता कलैया उपमहानगरले भने जीतपुरसिमरा वडा नम्बर १८ मा स्वास्थ्य चौकी रहेको जग्गा आफ्नो भएकाले बिना जानकारी पर्खाल लगाउन लागेपछि नगरी प्रहरी पठाएको जनाएको छ ।कलैया उपमहानगरले सार्वजनिक जग्गामा पर्खाल लगाउन रोकेपछि वडा अध्यक्ष वाग्लेले प्रेस विज्ञप्ति जारी गरेर नगरप्रमुख साहको कार्यशैलीको विरोध गर्नुभएको थियो ।
यस्तै बारा ३ (क) का प्रदेश सभा सदस्य रविन्द्रदास श्रेष्ठले साविक मनहर्वा गाविसको केही भूभाग कलैया उपमहानगर र केही जीतपुरसिमरा अन्तर्गत परेकाले सीमा क्षेत्रको सार्वजनिक जग्गामा दुवै पालिकाले दाबी गरेको बताउनुभयो । साविक मनहर्वा गाउँ पञ्चायत हुँदाका वडा नम्बर ४, ५ र ६ कलैया उपमहानगरभित्र पर्दछन् भने बाँकी ६ वटा वडा जीतपुरसिमरा उपमहानगरभित्र पर्दछन् ।

राज्य पुनर्संरचनाको क्रममा भौगोलिक सिमाङ्कनलाई ख्याल नगरी पालिकाको क्षेत्र घोषणा गर्दा सानातिना विषयमा पनि पालिकाबीच विवाद हुने गरेको प्रदेश सभा सदस्य श्रेष्ठको भनाई छ । केही वर्ष अघिसम्म जग्गा कारोबारीहरूले कब्जामा राखेर भोगचलन गरेको सो जग्गा जीतपुरसिमरा उपमहानगरपालिका १८ का पूर्ववडा अध्यक्ष अर्जुन दाहालको सक्रियतामा सार्वजनिक कायम भएर आधारभूत स्वास्थ्य चौकी निर्माण भएको थियो ।

Leave a Reply