निजगढ,निजगढमा नालाले बगाएर शनिवार साँझ एक बालकको मृत्यु भएको छ ।सर्लाही जिल्ला मलगंवा नगरपालिका वडा नम्बर २ घर भइ हाल निजगढ नगरपालिका वडा नम्बर ८ को सहिद चोकको सुन पसल संचालन गर्दै आएका रुपेस साहको ११ महिनाको छोरा ऋषि साहको पूर्वश्चिम राजमार्गको उत्तरपट्टीको नालाको पानीमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिनुभयो ।घरअगाडि आँगनमा खेल्दै गरेका ऋषि साँझ ७ बजे अचानक नालामा खसेका थिए । खोज गर्ने क्रममा करिव ३ सय मिटर पश्चिम नालामा १ घण्टापछि उनलाई फेला पारिएको थियो । अचेत अवस्थामा फेला परेका बालक उपचारको लागि सामुदायिक अस्पताल प्रसुति गृह पुर्याइएपछि चिकित्सकले मृत घोषणा गरेका हुन ।जनपथ प्रहरी, सशस्त्र र स्थानीयको सहयोगमा बालकको शव खोजी गरिएको हो । शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल कलैया पठाइएको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिनुभयो ।अविरल वर्षाका कारण शनिवार निजगढका नालाहरुमा पानीको प्रवाह तीव्र बनेको थियो । वर्षाको भेल पानी पसेर निजगढका दर्जनौं घर डुवानमा परेका छन ।



















