जनकपुरधाम,मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव विश्वासको मत पाउन असफल हुनुभएको छ । बुधवार भएको सभाको तेस्रो अधिवेशनको तेस्रो बैठकमा विश्वासको मतका लागि मुख्यमन्त्री यादवले गर्नुभएको प्रस्तावको पक्षमा बहुमत नपुगेको हो ।उहाँको पक्षमा ५० मत परेको थियो भने विपक्षमा ५३ मत परेको थियो । कूल १०७ सदस्य संख्या रहेको सभाको बैठकमा १०३ जना सदस्यको उपस्थिति थियो । सामान्य बहुमतका लागि ५४ जनाको मत आवश्यक रहेकोमा सो प्राप्त गर्न नसकेका कारण मुख्यमन्त्री विश्वासको मत पाउन असफल हुनुभयो ।
प्रस्तावको पक्षमा जनता समाजवादी पार्टी नेपाल, नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीका साँसदले मतदान गरेका थिए । विपक्षमा नेकपा (एमाले), जनमत पार्टी, नेकपा (माओवादी केन्द्र), नेकपा (एस) ले मतदान गरेका थिए ।

मुख्यमन्त्री यादवको १७ महिनाको कार्यावधिमा यो पाँचौ पटक विश्वासको मतको लागि प्रस्ताव गर्नुभएको थियो । प्रस्तावको पक्षमा नेपाली कांग्रेसका वीरेन्द्रप्रसाद सिंह, राप्रपाका कञ्चन बिच्छा, लोसपाका उपेन्द्र महतो, जसपा नेपालका लालबाबु राउतले बोल्नुभएको थियो ।नेकपा (एस) का कनिस पटेल, नेकपा (माओवादी केन्द्र) का युवराज भट्टराई, जनमत पार्टीका चन्दन सिंह, एमालेका हरिनारायण महतोले विपक्षमा मतदान गर्ने निर्णय भएको बताएका थिए ।यसअघि मधेश प्रदेश सभा बैठकमा सरकारका कुनै पनि मन्त्री उपस्थित नहुँदा बैठक १० मिनेटका लागि स्थगित गरिएको थियो । प्रदेशसभा सञ्चालन नियमावली २०७५ को परिच्छेद ३ को नियम ६ को उपनियम ६ बमोजिम सरकारको (मन्त्री) अनिवार्य उपस्थित हुने व्यवस्था रहेकाले बैठकमा कुनै मन्त्री उपस्थित नहुँदा बैठक स्थगित गरिएको सभामुख रामचन्द्र मण्डलले जनाउनुभएको थियो ।बैठक स्थगित पश्चात मुख्यमन्त्री यादव उपस्थित हुनुभएपछि बैठक पुनः सुचारु भएको थियो । मुख्यमन्त्री यादवले पहिलो पटक २०७९ माघ ४ गते, दोस्रो पटक २०८० जेठ ३० गते, तेस्रो पटक २०८० फागुन ६ गते र चौथौ पटक २०८१ वैशाख ४ गते विश्वासको मत लिनुभएको थियो ।अब नयाँ गठबन्धन बनाएर सरकारको नेतृत्व लिन एमाले, माओवादी र जनतम पार्टी सहमत भएका छन् । जनमतलाई नेतृत्व दिनेगरी सहमत भएका जनमतसहित एमाले, माओवादी र नेकपा (एस) गठबन्धनमा छन् ।
यता, प्रदेश सभामा मुख्यमन्त्री यादवले विश्वासको मत प्राप्त गर्न नसकेको खण्डमा संविधानको धारा १६८ को उपधारा ३ बमोजिम प्रदेश सभामा सबैभन्दा बढी सदस्यहरु भएको नेकपा एमाले संसदीय दलको नेता सरोज यादवलाई मुख्यमन्त्रीमा नियुक्त गर्न सकिने सम्भावना पनि छ । तर बहुमत सदस्य संख्या पुगेको गठबन्धनले जुनसुकै पार्टीको सदस्यलाई नेतृत्वका लागि दाबी पेश गरेमा उक्त सदस्यलाई मुख्यमन्त्रीमा नियुक्त गर्न सकिने नयाँ बन्ने गठबन्धन पार्टीको बुझाइ छ ।

Leave a Reply