सिमरा,नेपाल रेडक्रस सोसाइटी पर्सा जिल्ला शाखा र जीतपुरसिमरा वडा नम्बर १४ बीच बिरामीहरुलाई निःशुल्क रगत परीक्षण सेवा उपलब्ध गराउने सम्झौता भएको छ । जीतपुरसिमरा वडा नम्बर १४ अन्तर्गत रहेका बिरामीहरुलाई उपचारको क्रममा रक्तसञ्चार केन्द्रबाट गर्नुपर्ने रगतको परीक्षण निःशुल्क गराउन रेडक्रसका सभापति विरेन्द्र राज कंडेल र वडा अध्यक्ष चयन गुरुङबीच सम्झौता भएको छ ।
हस्ताक्षरको क्रममा सेवा कार्यलाई तीव्रता दिदै रगतको परीक्षण शुल्कलाई वडाबासी लगायत सबै ठाउँका बासिन्दाहरुलाई समेत निःशुल्क रगत उपलब्ध गराउनको लागि आफ्नो क्षेत्रलगायत अन्य निकायमा समेत पहल गर्ने गराउने प्रतिबद्धता वडा अध्यक्ष गुरुङले जनाउनुभएको छ ।रक्तदान कार्यक्रमदेखि रक्तसञ्चार केन्द्र र विभिन्न रोग परीक्षण गरेर रगतको क्रसम्यास प्रक्रियालाई पूरा गरेर बिरामीसम्म सुरक्षित तरिकाले पुर्याउने कार्यमा लाग्ने शुल्कलाई ध्यानमा राखेर जीतपुरसिमरा– १४ का वडा अध्यक्ष गुरुङले गर्नुभएको सहनीय कार्यलाई धन्यवाद दिदै प्रत्येक वडा एवंम प्रत्येक स्थानीय जनप्रतिनिधिले समेत रेडक्रसको कार्यमा समन्वय एवं सहयोग गर्नुपर्ने कुरामा जोडदिनुका साथै सबैले निस्वार्थ रुपले मानवीय सेवा कार्यमा जुट्नका लागि नेपाल रेडक्रस सोसाइटी पर्साका सभापति वीरेन्द्रराज कंडेलले अनुरोध गर्नुभएको छ ।सम्झौता पत्र हस्ताक्षरको क्रममा नेपाल रेडक्रस पर्साका निमित्त शाखा अधिकृत वीरशम्सेर प्रसाद कुर्मी, सहायक राजन श्रीवास्तव र मिना क्षेत्रीको सहभागीता रहेको कुरा श्रीवास्तवले जानकारी गराउनुभएको छ ।



















