निजगढ,निजगढ नगरपालिकाका उपप्रमुख सोममाया थिङले सूचना प्रविधिको अधिकतम प्रयोग गरि शैक्षिक सुधारमा अग्रसर हुनुपर्ने बताउनुभएको छ ।निजगढ नगरपालिकाका विद्यालयका आइटी श्रोत शिक्षकहरुलाई दिइएको ३ दिने अभिमुखीकरण तालिमको समापन गर्दै नगर उपप्रमुख थिङले तालिममा सिकेका कुरा विद्यालयमा प्रयोगमा ल्याउन आग्रह गर्नुभयो । आफुले सिकेका कुरा अरुलाई पनि सिकाउँदै ज्ञानको विस्तार गर्न समेत उहाँले सुझाव दिनुभयो । शैक्षिक सुधारका लागि नगरपालिकाले पनि विभिन्न गतिविधि अघि बढाईरहेको उपप्रमुख थिङको भनाई छ ।

विद्यालयसंग सम्बन्धित विभिन्न विषयका बारेमा जानकारी दिएर विद्यालयलाई सूचना प्रविधिमा अग्रसर बनाउने उद्देश्यले ३ दिने तालिम दिइएको हो ।निजगढ नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा भएको तालिममा विद्यालयमा तयार पारिने चिठी, पत्र, गुगल फर्म बनाउने नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष, राजस्व आदिको अनलाइन प्रविष्ठी गर्ने, ईमिसमा विद्यालय तथा विद्यार्थीको विवरण राख्ने लगायतका विषयमा अभ्यास गराइएको थियो । साथै नियरपोड, जोईन माई क्वीज, वर्डवाल जस्ता सफ्टवेयरको प्रयोग गरि सूचना प्रविधिमा जोडेर सिकाइ कार्य प्रभावकारी बनाउने विषयमा समेत जानकारी गराइएको थियो ।

तालिमको समापनमा बोल्दै निजगढ नगरपालिकाका शिक्षा अधिकृत उत्तम लामिछानेले तालिममा सिकेका कुरालाई विद्यालयमा प्रयोग गर्न आग्रह गर्नुभयो । नगरपालिकाले विभिन्न समयमा विद्यालयमा आवश्यक विभिन्न तालिमहरु प्रदान गरिरहेको भन्दै गुणस्तरीय सिकाइका लागि सिकेको कुरालाई व्यवहारमा ल्याउँदै सिकाइमा विविधता तथा विद्यार्थीलाई रुचिपूर्ण तरिकाले सिकाउन आग्रह गर्नुभयो ।तालिमका प्रशिक्षक विवशजंग थापाले सूचना प्रविधिको क्षेत्र व्यापक भएको भन्दै अभ्यास र निरन्तरताले सफलता पाईने बताउनुभयो । सिकेका कुरा प्रयोगमा ल्याईरहनुपर्ने उहाँको भनाई थियो ।

समापन कार्यक्रममा सहभागीको तर्फबाट बोल्दै जनज्योति आधारभूत विद्यालयका प्रधानाध्यापक मनराज महतरा र सत्यश्वर शिवशक्ति आधारभूत विद्यालयका शिक्षक टेकराज भण्डारीले तालिम आफुहरुका लागि उपयोगी र महत्वपूर्ण रहेको बताउनुभयो । उहाँहरुले तालिमले कौतुहलता बढाएको र सिकेका कुरा विद्यालयमा प्रयोगमा ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।तालिममा प्रशिक्षक राजु रेग्मी, विवशजंग थापा र रुद्र धितालले प्रशिक्षण दिनुभएको थियो ।तालिममा निजगढ नगरपालिका क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालयका २८ जना शिक्षक शिक्षिकाको सहभागीता रहेको थियो ।

Leave a Reply