वीरगञ्ज,पोखराको चर्चित लिचीबारी काण्डमा ७८ लाख रुपैयाँ घुस डिल गरेको अडियो सार्वजनिक भएपछि निवर्तमान सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाउने तयारी गरेको छ ।
विभिन्न सञ्चारमाध्यममार्फत बाहिर आएको अडिओमा गुप्ताकै स्वर रहेको पुष्टि भएपछि अख्तियारले उनलाई अनुसन्धान दायरामा ल्याएको बुझिएको छ । आयोग स्रोतका अनुसार अडिओमा रहेको आवाज गुप्ताकै हो वा होइन भन्नेबारे भ्वाइस टेस्ट गराइएको थियो । ल्याब परीक्षणको प्रतिवेदनले आवाज गुप्ताकै भएको ठहर गरेपछि अख्तियारले उनलाई बयानका लागि बोलाएको हो ।
यद्यपि घुस रकमको प्रत्यक्ष लेनदेनको प्रमाण नपाइए पनि ‘लिने–दिने मनसाय स्पष्ट देखिएको’ भन्दै भ्रष्टाचार निवारण ऐनअनुसार मुद्दा चलाउन पर्याप्त आधार भेटिएको आयोग स्रोतले जनाएको छ ।अडियो प्रकरणमा हालैसम्म पदमै रहेका भूमि व्यवस्था मन्त्री बलराम अधिकारीसमेत संलग्न रहेको अडिओमा प्रस्ट भएको छ । गुप्ताले अधिकारीले पैसा खाएर पनि काम नगरिदिएको गुनासो गरेका छन् ।कास्की मालपोतका कर्मचारी सरुवा, लिचीबारी जग्गा विवाद समाधान र भूमि आयोगको अध्यक्ष नियुक्तिसम्बन्धी विषयमा घुस डिल भएको अडियो सार्वजनिक भइसकेको छ ।
बिचौलिया सुजन लामामार्फत मन्त्री अधिकारीका छोरा र तत्कालीन भूमि व्यवस्था सचिव अर्जुन पोखरेललाई पनि संलग्न गराइएको अडिओमा उल्लेख छ । अडिओको पनि अख्तियारले छानबिन गरिरहेको छ ।गुप्ताले कास्की भूमि आयोगको अध्यक्ष नियुक्तिका लागि २५ लाख र मालपोत प्रमुखको सरुवा वा थमौतीका लागि ५३ लाख गरी कुल ७८ लाख रुपैयाँको डिल गरेका थिए । यही प्रकरण सार्वजनिक भएपछि व्यापक दबाबका कारण उनले असार ३१ गते मन्त्री पदबाट राजीनामा दिएका थिए ।प्रकरणमा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठसँग पनि अख्तियारले सोधपुछ गरिरहेको छ । आयोगले कास्की मालपोत कार्यालयलाई पत्र काटी लिचीबारी जग्गासम्बन्धी सम्पूर्ण कागजात र विवरण पेस गर्न माग गरेको छ ।हालसम्म पदमै रहेका भूमि व्यवस्था मन्त्री अधिकारीमाथिको कारबाही भने बिचौलिया लामाको बयानमा निर्भर हुने आयोग स्रोतले जनाएको छ ।
















