आर के चौधरी
सखुवाप्रसौनी,सखुवाप्रसौनी गाउँपालिकाको स्वस्थ्य शाखाद्वारा आयोजित आईपीभी खोप अभियान २०८१ अन्तर्गत पालिका स्तरीय जनप्रतिनिधिहरु तथा सञ्चारकर्मीहरूको लागि अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भएको छ ।
अभिमुखीकरण कार्यक्रमका प्रमुख अतिथिका रुपमा गाउँपालिका अध्यक्ष यसवन्त यादव, उपाध्यक्ष शर्मिला बिष्ट, वडा नम्बर २ का अध्यक्ष चिरञ्जीवी महतो थारु, वडा नम्बर ३ का अध्यक्ष मोजामिल अनसारी, वडा नम्बर ४ का अध्यक्ष मोदारिफ अनसारी, वडा नम्बर ६ अध्यक्ष मुना कमकर र स्थानीय सञ्चारकर्मीहरूको उपस्थिति थियो ।

कार्यक्रममा स्वास्थ्य चौकी महुवन शाखाका प्रमुखले आईपीभी खोपको महत्व, खोप अभियानको प्रक्रिया, समन्वय र सञ्चारको भूमिका र सम्भावित समस्याहरूको समाधान सम्बन्धी विस्तृत जानकारी प्रदान गर्नुभएको थियो ।
गाउँपालिका अध्यक्ष यसवन्त यादवले खोप अभियानको सफलताका लागि सबै पक्षलाई मिलेर काम गर्न आग्रह गर्नुभयो । उहाँले खोपका माध्यमबाट पोलियो जस्तो गम्भीर रोगबाट बालबालिकाहरूलाई सुरक्षित राख्न सकिने भएकाले यो अभियानमा सबैको सक्रिय सहभागिता महत्वपूर्ण रहेको बताउँनुभयो ।

कार्यक्रममा अध्यक्षता ग्रहण गर्नुभएका प्रमुख प्रशासकीय अधिकृत राजेश रौनियाले सञ्चारकर्मीहरूले समुदायमा खोप सम्बन्धी सही र तथ्यपरक सूचना दिन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।अभिमुखीकरण कार्यक्रमले खोप अभियानलाई प्रभावकारी बनाउन तथा जनस्वास्थ्यमा सुधार ल्याउन महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ । अभिमुखीकरण कार्यक्रम सखुवाप्रसौनी गाउँपालिकाको सभा हलमा सम्पन्न भएको हो । खोप अभियान कार्यक्रम जेष्ठ २० गते देखि २४ गतेसम्म गाउँपालिका अन्तर्गतका विद्यालयहरुमा २०७३ देखि २०७५ सालभित्र जन्मेको बच्चाहरुलाई दिइनेछ ।

Leave a Reply