वीरगञ्ज । सशस्त्र प्रहरीले वीरगञ्जबाट १० लाख बढीको भन्सार छलीका सामग्री बरामद गरेको छ । प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जबाट खटिएको टोलीले वीरगञ्ज महानगरपालिका वडा नम्बर १० आदर्शनगरबाट भन्सार छलीका सामग्री बरामद गरेको हो ।
बेवारिसे अवस्थामा लुकाई राखेको ४ लाख ९७ हजार ४ सय रुपैयाँ बराबरको ४१३ किलोग्राम कवाडी तामाको तार र ग्यास रेगुलेटर बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गणका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक देबेन्द्र सिंहले जानकारी दिनुभयो । सूचना अधिकारी सिंहकाअनुसार बरामद सामग्री आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ ।
यस्तै सशस्त्र प्रहरीले वीरगञ्जबाट ३ लाख ५५ हजार ७४० रुपैयाँ बराबरको भन्सार छलीका सामग्री बरामद गरेको छ । भारतबाट भन्सार छलेर वीरगञ्जतर्फ ल्याउँदै गरेको अवसमा किराना सामान, कपडा तथा मोटरपार्टसका सामग्री बरामद गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक सिंहले बताउनुभयो । उहाँकाअनुसार सामग्री ओसारपसारमा प्रयोग गरिएको बिआर ०५ ए ए ६८९७ नम्बरको स्कुटरसमेत नियन्त्रणमा लिइएको छ ।पर्साको बिन्दबासिनी गाउँपालिका वडा नम्बर ५ प्रसौनी भाठाबाट पनि सशस्त्र प्रहरीले ५८ हजार ५ सय रुपैयाँ बराबरको सामान बरामद गरेको छ । भन्सार छलेर ल्याउँदै गरेको अवस्थामा चिसो, चिनी तथा कपडा लगायतका सामग्री बरामद गरिएको सिंहले जानकारी दिनुभयो ।सबै ठाउँबाट बरामद गरिएको १० लाख ११ हजार ६४० रुपैयाँ बराबरको सामग्री आवश्यक कारवाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ ।
















