नेपालमा विभिन्न जातजाती र धर्म मान्नेहरु बस्ने गर्दछन् । त्यसैले पनि नेपाललाई फूलवारी भन्ने गरिएको हो ।
यो नेपालको विशेषता पनि हो तर बेला बेलामा नेपालमा धार्मिक सद्भाव, सामाजिक सद्भाव खल्बलाउने प्रयास हुने गर्दछ । अझै मधेसमा यो समस्या बढी छ । मधेसमा सानो कुरामा पनि सद्भाव बिगार्न खोजिन्छ र धार्मिक दंगा भड्काउने प्रयास पनि गरिन्छ । मधेस झन् राम्रो फूलवारी हो । यहाँ सबै जात र समुदायको बसोबसाई परापूर्वकालदेखि नै चल्दै आइरहेको छ । सानो कुराले यहाँ धेरै फरक पार्दैन । तर, फरक पार्ने र जनतालाई विभाजन गर्ने प्रयास भने गरिन्छ । समाजमा सबै शान्ति चाहने व्यक्ति मात्रै हुन्छन भन्ने पनि हुँदैनन् । केही त समाजलाई भड्काएर, धार्मिक दंगा कायम गराएर आफ्नो स्वार्थ पूरा गर्नेतर्फ लाग्दछन् ।
धनुषामा शनिवार भएको घटना यस्तै हो । नत्र मस्जिदमा आक्रमण गर्नुपर्ने कुनै कारण नै थिएन । मन्दिर भनेपनि मस्जिद भनेपनि यो पवित्र ठाउँ नै हो । त्यहाँ गलत क्रियाकलाप हुदैन । भगवान वा अल्लाह जे भनेपनि रुप एउटै हो । सबैले यिनै चीजको संरक्षण गर्ने हो भने धार्मिक दंगा कसैले चाहेर पनि हुदैन ।
अहिले फेरि केही तत्वले धर्मको नाउँमा अराजकता फैलाउन खोजेको जस्तो देखिन्छ । कसैको धार्मिक आस्थामाथि खेलवाड गरेपनि तनाब हुन्छ नै । कसैले नियत बस वा असावधानीले पनि यस्तो कार्य गरेको हुन सक्छ ।
मुख्यत धार्मिक अगुवा र समाजका सचेत ब्यक्तिहरुले यस्तोमा संमेमता अपनाउन आवश्यक छ । धर्म सबैको प्यारो हुन्छ । सभ्य मानिसले कसैको धर्मप्रति अनादर गर्न नै सक्दैन । त्यसैले एकाधले केही गलत हर्कत गरे भन्दैमा सिधै सबै धर्ममा नजोडौं, यस्तोमा संयमता अपनाऔं । यसैमा सबैको भलो हुने छ ।
















