सिमरा,जीतपुरसिमरा उपमहानगरपालिकाका संस्थापक नगर प्रमुख तथा हातेमालो बचत तथा ऋण सहकारी संस्थाको समेत संस्थापक अध्यक्ष स्वर्गीय मेयर डा. कृष्ण पौडेलको स्मृतिमा बुहारी छात्रवृत्ति कार्यक्रम सुरु भएको छ ।
हातेमालो बचत तथा ऋण सहकारी संस्थाले १८औं स्थापना दिवस विशेष समारोहमा बुहारी छात्रवृत्ति कार्यक्रम घोषणा गरेको हो । संस्थाले यस वर्षको बुहारी छात्रवृत्ति सम्मान डुमरवाना क्याम्पसमा अध्ययनरत स्वस्तिका कंडेललाई प्रदान गरेको छ ।
डुमरवाना क्याम्पसमा स्नातक तेस्रो वर्षमा अध्ययनरत कंडेलले अबको एक वर्ष निःशुल्क अध्ययन गर्न पाउनेछिन् ।क्याम्पसमा तिनुपर्ने सम्पूर्ण शुल्क हातमालो सहकारीले क्याम्पसलाई तिर्नेछ ।

बुहारी छात्रवृत्ति कार्यक्रम स्थापना गर्ने मेयर पौडेलको चाहना थियो । नगर प्रमुखमा निर्वाचित भएपछि पौडेलले हातेमालोका पदाधिकारीलाई उक्त कार्यक्रम सुरु गर्न आग्रह गर्दै आएका थिए ।संस्थापक अध्यक्ष पौडेलले स्थापना गर्न खोजेको उक्त कार्यक्रम हातेमालोले यस वर्षदेखि सुरु गरेको उपाध्यक्ष सञ्जय साहले बताउनुभयो । बुहारीहरुले पनि पढ्न पाउनुपर्ने अवसर र वातावरण निर्माण गर्नका लागि पौडेलले बुहारी छात्रवृत्ति कार्यक्रम ल्याउनुपर्ने बताउँदै आउनुभएको थियो ।
पौडेलको २०८० असोज २५ गते निधन भएको थियो ।पौडेलकै नेतृत्वमा २०६५ सालमा हातेमालो सहकारी स्थापना भएको थियो । नेकपा एमालेको राजनीतिमा सक्रिय रहँदै आएका पौडेलको नेतृत्वमा स्थापित भएको हातमालो यस क्षेत्रकै सर्वाधिक सफल सहकारी संस्था हो ।

सहकारी नेतृत्वमा रहँदै गरेका बेला पौडेल २०७४ सालको स्थानीय निर्वाचनमा लोकप्रिय मतसहित नगर प्रमुखमा निर्वाचित हुनुभएको हो । पौडेल नेकपा एमालेको मधेश प्रदेश सचिवसमेत हुनुहुन्थ्यो ।यसैगरी स्थपना दिवसको अवसरमा हातेमालोले विभिन्न क्षेत्रलाई समेट्दै हातेमालो वर्ष सम्मान प्रदान गरेको छ । संस्थाले शिक्षा, सञ्चार, जेष्ठ नागरिक, शेयर सदस्य, कर्मचारीलगायतलाई वर्ष सम्मान तथा पुरस्कार प्रदान गरेको हो ।

संस्थाले यस वर्षको हातेमालो सहकारी पत्रकारिता पुरस्कार पत्रकार रञ्जन यादवलाई प्रदान गरेको छ । यसैगरी वर्ष छात्राको रुपमा सिमरा कलेजकी सुनिता श्रेष्ठ, डुमरवाना क्याम्पसकी प्रतिमा ढकाल, बकुलिया क्याम्पसकी निलम साहलाई प्रदान गरिएको छ । यस्तै वर्ष छात्रकोरुपमा सुनिल श्रेष्ठ, सिद्धार्थ रानामगर र अरुणकुमार चौधरी सम्मानित भएका छन् ।
संस्थाले मुक्तिनाथ तिमिल्सिना, बद्रीनाथ चौधरी र गायत्री गौतमलाई वर्षको उत्कृष्ट किसान सम्मान प्रदान गरेको छ । यस्तै ८४ वर्षीय रणबहादुर खत्री र ८० वर्षीय आशाकुमारी लामालाई जेष्ठ नागरिक सम्मानले सम्मानित गरिएको छ भने उत्कृष्ट कर्मचारीको रुपमा पर्शुराम चौधरीलाई पुरस्कृत गरिएको छ ।यसैगरी संस्थाले चार जना उत्कृष्ट बचतकर्ता चार जना कारोबारकर्तालाई पनि सम्मान गरेको छ । वर्ष सम्मान पाउनेलाई मधेश प्रदेशसभा सदस्य देवनारायण चौधरीले सम्मानित गरेका थिए ।

Leave a Reply