कलैया,कलैया मेयर कप क्रिकेटको उपाधि भारतको मोतिहारीले हात पारेको छ । आइतवार सिद्धेश्वर खेल मैदानमा भएको फाईनल खेलमा कलैयालाई मोतिहारीले ७ बिकेटले हराएको हो । टस जितेर पहिले फिल्डिङ्ग गरेको मोतिहारीले कलैयालाई निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा केवल १२९ रनमा रोकेको थियो ।
जवाफी ब्याटिङ्ग्मा ओर्लेको मोतिहारीले १९.३ ओभरमा ७ बिकेटले विजयी लक्ष्य हासिल गरेको अफिसियल सुदिप चौधरीले जानकारी गराउनुभयो ।कलैयाकालागि साहिल पटेल ४२ रन र निखिल सिंह २७ रन बनाए । मोतिहारिको लागि अमित चन्द्राले ३ बिकेट, सकिबुल गनी, आशुतोष पान्डे, अफान गनी र देवाशिश कुमारले एक एक बिकेट लिए ।मोतिहारीको लागि सकिबुल गनीले ७३ रन र सुदर्शन कुमार ३६ रन बनाए । कलैयाको लागि शाहब आलम र कप्तान तृतराज दासले एक एक बिकेट लिए ।बिजेता मोतिहारीलाई प्रमुख अतिथि कलैया उपमहानगरपालिकाका मेयर बिनोद साहले नगद ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गर्नुभयो ।
त्यस्तै उपविजेता कलैयालाई क्रिकेट संघ बाराका अध्यक्ष प्रभात चौरसिया र कलैया क्रिकेट क्लबका अध्यक्ष तसिरुद्दिन मन्सूरले संयुक्त रुपमा नगद रु.२५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।व्यक्तिगत ७३ रन बनाएर उपाधि हात पारेको मोतिहारीका सकिबुल गनी म्यान अफ द म्याच घोषित भए । बेस्ट बलर अफान गनीले प्रतियोगिता भरी १० बिकेट लिएका थिए । बेस्ट ब्याटसम्यान गौरका बिजय यादव घोषित भए । त्यस्तै प्रतियोगिताभरिकै उत्कृष्ट खेलाडी मोतिहारिका सकिबुल गनी बने ।
प्रमुख अतिथि मेयर साहले मोतिहारीका खेलाडीलाई धन्यवाद दिदै विजेता भएकोमा बधाई दिनुभयो । उहाँले उपमहानगरपालिकाको आन्तरिक बजेटको ४ प्रतिशत रकम खेलका लागि छुट्याउने गरेको बताउनुभयो ।

















