निजगढ,गणतन्त्र दिवसको अवसरमा निजगढमा भएको छुट्टाछुट्टै कार्यक्रममा मंगलवार झण्डोत्तोलन र वृक्षारोपण गरिएको छ ।निजगढ नगरपालिका कार्यालयमा आयोजना गरिएको कार्यक्रममा निजगढ नगरपालिकाका प्रमुख सुरथ पुरी र उपप्रमुख सोममाया थिङ्गले कार्यालय परिसरमा राखिएको झण्डा फहराउनुभएको हो ।

कार्यक्रममा बोल्दै नगर प्रमुख पुरीले देशमा सम्बृद्धि ल्याउन सकेमात्रै गणतन्त्र सफल हुने बताउनुभयो । उहाँले अहिले पनि गणतन्त्र विरोधी शक्ति सक्रिय रहेको बताउदै गणतन्त्रका पक्षपातिहरु देश र जनताको सम्बृद्धिको लागि एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।निजगढ नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष ज्ञानबहादुर गोले, कार्यपालिका सदस्य अरुणा विक, नेपाली कांग्रेस निजगढ सभापती नवराज तिमल्सिना, नेकपा एमालेका नगर कमिटी उपाध्यक्ष भोलाप्रसाद गौतम, माओवादी नगर अध्यक्ष संन्तोष दङ्गाल, रास्वपाका निजगढ नगर सभापती रामहरी खरेल, एकीकृत समाजवादीका भिमसेन सापकोटा, निजगढ रेडक्रस सोसाइटी सभापती रुद्र धिताललगायतले गणतन्त्रको महत्व बारेमा बोल्नुभएको थियो ।

कार्यक्रमको संचालन कार्यालयका योजना अधिकृत अजय उप्रेतीले गर्नुभएको थियो । कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौला, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, विद्यालयका शिक्षक, राजनीतिक दलका कार्यकर्तालगायतको उपस्थिति रहेको थियो ।
त्यसैगरी गणतन्त्र दिवसको अवसरमा नगरपालिका वडा नम्बर ७ मा रहेको सत्यश्वर शिवशक्ति आधारभूत विद्यालयमा वृक्षारोपण गरिएको छ । राजन फलफूल नर्सरी बागवानी फर्मको सहयोगमा प्राप्त विभिन्न विरुवा विद्यालय परिसरमा रोपिएका हुन् ।
विद्यालयका प्रधानाध्यापक उमेशकुमार स्वर्णकारको अध्यक्षतामा भएको वृक्षारोपण कार्यक्रममा निजगढ नगरपालिका वडा नम्बर ७ का अध्यक्ष टेकबहादुर लामाको प्रमुख आतिथि र विद्यालयका संयोजक घनश्याम लम्साल विशिष्ट अतिथि रहनुभएको थियोे ।नर्सरी सञ्चालक तथा विद्यालय व्यवस्थापन समितिका सदस्य हरेन्द्र साह रौनियारको सहयोगमा प्राप्त नमस्ते धुपी सल्ला, क्रोटन, अशोक, जाकराण्डा लगायतका बिरुवाहरु विद्यालय परिसरमा रोपिएका विद्यालयका शिक्षिका किरण श्रेष्ठले बताउनुभयो ।सो अवसरमा प्रमुख अतिथि वडा अध्यक्ष लामाले गणतन्त्र दिवसको अवसरमा वृक्षरोपण गरि विद्यालयले पर्यावरण संरक्षणको सन्देश दिएको बताउनुभयो । विद्यालयका प्रधानाध्यापक स्वर्णकारले विद्यालयमा वृक्षारोपणका लागि निःशुल्क बिरुवा उपलब्ध गराइ सहयोग गर्नुभएकोमा नर्सरी सञ्चालक रौनियारलाई धन्यवाद दिँदै सबै अभिभावक, शिक्षक र विद्यार्थीको सहयोगमा विद्यालय राम्रो बन्ने बताउनुभयो ।वृक्षारोपण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य नारायण सापकोटा, रिना योञ्जन, तारा रुम्बा, बाल क्लबका सचिव सुमन रौनियार, सदस्य आदित्य रौनियार, सागर सर्राफ प्रतीक भण्डारी, शिवानी रौनियार अभिभावक, विद्यार्थी लगायतको सहभागिता रहेको थियो ।

Leave a Reply