नरेश गुप्ता
बरियारपुर,बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जिल्लामा शान्ति सुरक्षा र सुशासन कायम गर्ने आफनो पहिलो जिम्मेवारी रहेको बताउनुभएको छ । जिल्ला प्रशासन कार्यालय बाराद्वारा बुधबार आयोजना गरिएको ‘पत्रकारसंगको परिचयात्मक कार्यक्रम’मा बोल्दै प्रजिअ कटुवालले यस्तो बताउनु भएको हो ।
जिल्लाका बढेको तस्करी, महिला हिंसाका घटना, हत्या, बलात्कार जस्ता जघन्य अपराध नियन्त्रणको विषयमा पत्रकारहरुले राखेको जिज्ञासमा प्रजिअ कटुवालले अपराध न्यूनीकरणमा सबैको सहयोगको अपेक्षा रहेको बताउनुभयो । पत्रकारहरुले जिल्लामा देखिएको मलखादको समस्या, जिल्ला विपद व्यवस्थापनमा भएको खर्च जस्ता विषयमा पनि जिज्ञासा राखेका थिए ।
कार्यक्रममा बोल्दै प्रजिअ कटुवालले पत्रकारहरुले सही समाचार सम्प्रेषण गरेको खण्डमा त्यसको प्रभाव पनि राम्रो पर्ने र अपराध न्यूनीकरण तथा सुशासन कायम गर्न ठूलो सहयोग पुग्ने बताउनुभयो । उहाँले जिल्लाको शान्ति÷सुरक्षा, सुशासन र अनुगमन कार्यलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिवद्धता पनि जाहेर गर्नुभएको थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ बारा जिल्ला शाखा उपाध्यक्ष रामबाबु मेहता, सचिव अनिलकुमार गौरव, कोषाध्यक्ष श्याम गुप्ता, कार्यसमिति सद्स्य नरेश गुप्ता, सिकेन्द्र पासवान, शिवशंकर मिश्रालगायतले समसामयिक बिषयमा जिज्ञासा राख्नु भएको थियो । सो अवसरमा बाराका प्रहरी प्रमुख दिपेन्द्र शाही, बरिष्ट पत्रकार सत्यप्रकाश श्रेष्ठको पनि उपस्थिति रहेको थियो ।