सिमरा,अत्यधिक गर्मीका कारण बाराको जीतपुरसिमरा उपमहानगरपालिका र पर्साको वीरगञ्ज महानगरपालिकाले नगर क्षेत्रभित्र रहेका विद्यालयमा ३ दिन विदा दिने निर्णय गरेको छ ।तराई मधेसमा केही दिनदेखि बढेको गर्मीले पठनपाठनमा समस्या भएपछि महानगरपालिका र उपमहानगरपालिकाले विद्यालयमा विदा दिने निर्णय गरेका हुन ।

जीतपुरसिमरा उपमहानगरपालिकाका शिक्षा महाशाखा प्रमुख शिवजी प्रसादद्वारा जारी सूचनामा नगर प्रमुख स्तरीय निर्णय अनुसार जेठ १६ गतेदेखि १८ गतेसम्मका लागि सार्वजनिक विदा दिइएको उल्लेख छ । वर्षे विदाबाट कट्टा हुने गरी विदा गरिएको नगर क्षेत्रभित्रका सामुदायिक र संस्थागत विद्यालय अब जेठ २० गते खुल्नेछन् ।तीन दिनका लागि विदा दिइए पनि उपमहानगरपालिकाभित्रका विद्यालय मंगलवारदेखि पाँच दिन बन्द हुनेछन् । जेठ १५ गते गणतन्त्र दिवस र जेठ १९ गते शनिवार परेका कारण शैक्षिक संस्था आइतवार मात्रै खुल्ने भएका हुन् ।

त्यसैगरी वीरगञ्ज महानगरपालिकाले पनि तीन दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ । तराई मधेसमा बढ्दै गएको गर्मीका कारण जनजीवन प्रभावित भएको भन्दै महानगरपालिका मातहतका सबै शैक्षिक संस्था तीन दिनका लगि बन्द गरिएको हो ।बालबालिकाहरुको स्वास्थ्यमा प्रतिकुल प्रभाव पर्ने अवस्थालाई मध्यनजर गर्दै वीरगञ्ज महानगरपालिकाले जेष्ठ १६ गतेदेखि जेष्ठ १८ गते शुक्रवारसम्म महानगरमा रहेका सबै सामुदायिक र संस्थागत विद्यालयहरु बन्द गर्ने निर्णय गरेको हो ।महानगर प्रमुख राजेशमान सिंहको उपस्थितिमा सोमवार बसेको शिक्षा समितिको बैठकले बुधवारदेखि शुक्रबारसम्म तीन दिनका लागि विद्यालयहरु बन्द गर्ने निर्णय गरेको शैक्षिक प्रशासन महाशाखा प्रमुख अर्विन्दलाल कर्णले जानकारी दिनुभयो ।

Leave a Reply