सिमरा,जीतपुरसिमरा उपमहानगरपालिकाको आधारभूत तहको शैक्षिक अवस्था अत्यन्तै निराशाजनक देखिएको छ ।
उपमहानगरपालिका अन्तर्गतका विद्यालयमा अध्ययनरत विद्यार्थीसंग गरिएको १६ दिने सर्वेक्षणले शैक्षिक अवस्था कमजोर देखाएको हो । उपमहानगरपालिकाको ५८ सामुदायिक र ४१ संस्थागत (निजी) गरी ९९ विद्यालयमा अध्ययनरत १६ हजार आठ सय ५० विद्यार्थीसंग उक्त सर्वेक्षण गरिएको थियो ।

सर्वेक्षणले उपमहानगरपालिकाको शैक्षिक अवस्था निराशाजनक रहेको निष्कर्ष निकालेको छ । उपमहानगरपालिकामा ६१ वटा सामुदायिक र ४९ वटा निजी गरी एक सय १० विद्यालय छन् ।विट्स ल्याडर नामक संस्थाको प्राविधिक सहयोगमा सर्वेक्षण गरेको सिमरा कलेजले सोमवार केएसआर मुभिजमा प्रतिवेदन सार्वजनिक गरेको हो ।सर्वेक्षणमा सिमरा, बकुलिया र डुमरवाना कलेजका एक सय ५० जना स्नातक तहमा अध्यनरत विद्यार्थी खटिएका थिए । प्रविधिको प्रयोग गरी गरिएको डिजिटल सर्वेक्षणको प्रतिवेदन सार्वजनिक गर्ने कार्यक्रममा सामुदायिक र संस्थागत विद्यालयका शिक्षक, राजनीतिक दलका प्रतिनिधि र सरोकारवाला निकायका प्रतिनिधिलाई बोलाइएको थियो ।

६१ पृष्ठ लामो प्रतिवेदनले विद्यालयभन्दा सरकारको लगानी रहेको सामुदायिक विद्यालयको अवस्था झनै कमजोर देखाएको छ । सामुदायिक विद्यालयका आठ हजार एक सय ८७ र निजी विद्यालयका आठ हजार ६ सय ६३ विद्यार्थी सर्वेक्षणमा सहभागी भएका थिए ।प्रतिवेदनअनुसार सामुदायिक र निजी विद्यालयको कक्षा ८ सम्म अध्ययनरत विद्यार्थीमध्ये ८२.८ प्रतिशत विद्यार्थीले कक्षा ३ को भाग (डिभिजन) सम्बन्धी समस्या समाधान गर्न नसकेको देखिएकोछ । जसमध्ये पाँच कक्षामा अध्ययनरत २५ प्रतिशत र कक्षा ८ मा अध्ययनरत २७ प्रतिशत विद्यार्थीले मात्रै उक्त समस्या समाधान गर्न सकेका छन् ।

यसैगरी कक्षा ८ सम्मका ७७.६१ प्रतिशत विद्यार्थीले कक्षा ३ को पाठ्यक्रममा आधारित प्रश्नको जवाफ समेत दिन नसकेको प्रतिवेदनले उल्लेख गरेको छ । जसमध्ये कक्षा ५ को २९ प्रतिशत र कक्षा ८ को ४७ प्रतिशत विद्यार्थीले कक्षा ३ को पाठ्यक्रममा आधारित रहेर सोधिएका प्रश्नको जवाफ दिएको प्रतिवेदनले देखाएको छ ।प्रतिवेदनलाई आधार मान्ने हो भने सामुदायिक विद्यालयको कक्षा ५ मा अध्ययनरत २०.३० प्रतिशत विद्यार्थीले मात्रै अंग्रेजी विषयको पाठ्यक्रममा रहेको कथा पढेर प्रश्नको जवाफ दिन सकेका छन् भने निजी विद्यालयमा अध्ययनरत ४९.३८ विद्यार्थीले सो जवाफ दिएका छन् ।

यस्तै नेपाली विषयमा सामुदायिक विद्यालयका विद्यार्थीको प्रतिशत ७.८० छ भने निजीको ४७.६० र गणितमा सामुदायिकतर्फ ८ प्रतिशत देखाउँदा निजीका ४२.१ प्रतिशत विद्यार्थीले उक्त जवाफ दिएका छन् ।कक्षा ८ मा आईपुग्दा सामुदायिक विद्यालयका विद्यार्थीमा केही सुधार देखिएपनि अवस्था भने सन्तोषजनक देखिदैन । प्रतिवेदन अनुसार कक्षा ८ मा पढ्ने ०.८३ प्रतिशत सामुदायिक र ०.४५ प्रतिशत निजी विद्यालयका विद्यार्थीले अंग्रेजी अंक र अक्षर चिन्दैनन् ।यस्तै १.११ प्रतिशत सामुदायिक विद्यालय र ०.३० प्रतिशत विद्यार्थीले नेपाली विषयको अंक र अक्षर नचिनेको देखिन्छ । यसैगरी सामुदायिक विद्यालयका ०.८३ प्रतिशत र निजी विद्यालयका ०.१५ प्रतिशत विद्यार्थीले गणित विषयको अंक र अक्षर नचिनेको प्रतिवेदनमा उल्लेख छ ।नगर प्रमुख राजन पौडेलले सर्वेक्षणले देखाएको प्रतिवेदन हेर्दा ‘रुन मन लाग्ने’ अवस्था रहेको बताउनुभएको छ । प्रतिवेदन सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा पौडेलले उपमहानगरपालिकाभित्रको शैक्षिक अवस्थामा सुधार ल्याउन जरुरी रहेको बताउनुभयो ।

Leave a Reply