मनोज शाह
जीतपुर,बारा जिल्लाको परवानीपुर गाउँपालिकामा रहेको एउटा दलित बस्ति घरबिहिन भएको छ । जनता आवास कार्यक्रम अन्तर्गत नयाँ बनाइदिने भनेर भत्काइएका स्थानीयको घर ठेकेदारले नबनाएपछि पालिकाको वडा नम्बर ४ चैनपुरको रामटोल दलित बस्ती २ वर्षदेखि घरबिहिन जस्तै भएको हो ।

स्थानीयका अनुसार कार्यक्रम अन्तर्गत नयाँ बनाइदिन्छु भन्दै पुरानो घर भत्काउन लगाउने ठेकेदार अहिले बेपत्ता भएका छन । नयाँ घर बन्ने आशमा रहेका दलितहरु यतिबेला त्रिपालमुनि बस्न बाध्य भएका छन ।
‘फुसको घर थियोे त्यो पनि भत्काइएपछि घरबारविहिन जस्तै बन्नुपरेको छ, स्थानीय शम्भु रामले बताउनुभयो, अहिलेसम्म नयाँ घर बनेनन, बनेका पनि अधुरा छन । उहाँले सुरक्षित घरको अभावमा आफू समस्यामा परेको बताउनुभयो ।
वर्षा लागिसकेको र अब पानी पर्दा रात दिन भिजेर बस्नुपर्ने अवस्था आएको उहाँले सुनाउनुभयो । उहाँले ठेकेदारले घर बनाउने भनेर आफूहरुसंग प्रतिव्यक्ति तिस हजार रुपैया लिएको सुनाउनुभयो ।घर निर्माणसम्बन्धि समस्या लिएर जिल्ला प्रशासन कार्यालय बारामा पटकपटक धाउदा पनि कुनै सुनुवाइ नभएको पीडितहरुले बताएका छन । ‘नयाँ पक्की घर बन्ने भनिएपछि ऋण लिएर पैसा दियौं, एक स्थानीयले भने, अहिले न घर बन्यो न पैसा नै पाइयो ।’ कार्यक्रम अन्तर्गत रामटोलमा कम्तीमा २५ घर निर्माण गर्ने योजना रहेको छ ।ठेकेदार राज कुमारले घर निर्माणको लागि दोस्रो किस्ता नआएकोले निर्माण हुन नसकेको बताएका छन ।



















