सिमरा,नव जनजागृति युवा क्लब सिमरालाई स्तब्ध पार्दै एन्फा मकवानपुर पाँचौं परवानीपुर गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । परवानीपुर खेल मैदानमा मंगलबार अन्तिम क्वाटरफाइनलमा नव जनजागृति लाई ३–० ले पराजित गर्दै मकवानपुरले अन्तिम चारको यात्रा तय गरेको हो ।मकवानपुरको जितमा सुजन गुरुङ, निमेश मोक्तान र रिजन लामाले एक-एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा मकवानपुरले दोस्रो हाफमा तीन गोल गर्दै जित निकालेको हो ।

खेलको ५२औं मिनेटमा सुजनले गोल गर्दै टिमलाई अग्रता दिलाए । ५७औं मिनेटमा निमेशले अर्को गोल थप्दै खेल २–० को स्थितिमा पु¥याए । खेलको ६७औं मिनेटमा रिजनले तेस्रो गोल थप्दा नव जनजागृति ३–० ले पछाडि पर्यो ।
खेलमा पाएका केही अवसर सदुपयोग गर्न नसक्दा नव जनजागृति हार आत्मसाथ गर्न बाध्य भयो । निमेश प्लेयर अफ दि म्याच घोषित भए । निमेशलाई नागमणी उपाध्यायले दुई हजार एक सय नगदसहित पुरस्कृत गरे ।प्रतियोगिता अन्तर्गत बुधबार आयोजक शक्ति युवा क्लब र वीरगन्ज युनाइटेड क्लबबीच पहिलो सेमिफाइनल खेल हुनेछ । मकवानपुरले भने दोस्रो सेमिफाइनलमा निजगढको सामना गर्नेछ ।बैशाख १२ गते सम्म आयोजना हुने प्रतियोगितामा भारतसहित आठ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले दुई लाख र उपविजेताले एक लाख नगद प्राप्त गर्नेछन् । विधागततर्फ सर्वोत्कृष्ट खेलाडीलाई पाँच हजार एक सय नगदसहित पुरस्कृत गरिनेछ ।

Leave a Reply