हेटौँडा –  मकवानपुरको बागमती गाउँपालिकामा मादक पदार्थ सेवन गरी आफ्नै परिवारका सदस्यमाथि कुटपिट गर्ने एक युवक पक्राउ परेका छन । मापसे गरेर काका र हजुरबुबामाथि हातपात तथा घरमा समेत तोडफोड गरेको आरोपमा बागमती– ८ साततलेका २२ वर्षीय निसान पाख्रिन (टम्बा) लाई प्रहरीले पक्राउ गरेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

उनी बागमती– ८ साततल्ले बस्ने आफ्नै सहोदर कान्छा काका बुद्ध भन्ने मिलन पाख्रिनको घरमा बस्दै आएका थिए । प्रहरीका अनुसार शनिबार राति मापसे गरेर काका मिलन पाख्रिन र ५५ वर्षीय हजुरबुबा रामबहादुर पाख्रिनससँग झगडा भएको थियो । झगडा पर्दा उनले काका र हजुरबुबाको घरको झ्याल, ढोकामा तोडफोड गर्नुका साथै ना ४२ प ६३६६ नम्बरको मोटरसाइकलमा समेत आगजानी गरेको थियो ।

झगडामा घाइते भएका रामबहादुरलाई स्थानीय क्लिनिकमा उपचारपश्चात थप उपचारका लागि हेटौँडा अस्पताल पठाइएको छ । निसान पाख्रिनलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले नियन्त्रण लिएको छ । निसानको पनि टाउकोमा चोट देखिएको प्रहरीले जनाएको छ ।

Leave a Reply