कृष्णउदास खनाल

वीरगन्ज,अर्थमन्त्री जनार्दश शर्माले आगामी आर्थिक वर्षको बजेट भाषण संबोधन गर्नेक्रममा दुई दशकदेखि बन्द रहेको वीरगन्ज चिनी कारखाना पुनः सुचारु गर्ने बताएपछि यस क्षेत्रमा एकखालको तरंग उत्पन्न भएको छ ।

वीरगन्ज चिनी कारखाना र कृषि औजार कारखाना सरकारले पुनः सञ्चालनमा ल्याउने घोषणा अर्थमन्त्री शर्माले गरेपछि यसले चर्चा पाउन थालेको हो । वीरगन्ज चिनी कारखाना नेपाल सरकार र सोभियत संघको सहयोगमा २०२१ सालमा स्थापना भएको थियो ।

दैनिक १५०० टन उखु पेल्ने क्षमता यो कारखानासँग छ । यो उद्योग सञ्चालनमा ल्याउन केही मेशिन मर्मत गर्नुपर्नेछ भने केही थप्नुपर्ने अवस्था छ । वीरगन्ज चिनी कारखाना २०५९ सालबाट बन्द छ । वीरगन्ज चिनी कारखानाका अधिकांश कर्मचारी स्वेच्छिक अवकाश लिइसके पनि झण्डै दुई दर्जन कर्मचारीहरु अहिले पनि करारमा कार्यरत छन् ।

ऋणले थिचिएको र घाटामा गएको देखाएर २०५९ सालमा सरकारले निजीकरण ऐन २०५० अनुसार खारेजीको निर्णय गरेको थियो । खारेज हुनुभन्दा करिव १० वर्ष अगाडिसम्म चिनी कारखानाको आम्दानी उच्च थियो । प्रत्येक उपकेन्द्रहरुमा पक्की घर रहेको कारखानाले आफैं विद्युत उत्पादन गर्दथ्यो ।

२०४६ सालपछि निरन्तर घाटामा गएपछि उद्योग समस्यामा परेको थियो । कर्मचारीको तलव दिन पनि समस्या भएपछि सरकारले खारेजीको निर्णय गरेको पूर्वकर्मचारी वैजनाथ राउतले बताउनुभयो । मध्य तराईको बारा, पर्सा तथा रौतहटमा उखुको राम्रो उब्जनी हुने जमिन छ । यसको उत्पादनमा हजारौंको संख्यामा कृषकले श्रम लगाए पनि प्रतिफल राम्रो हुन सकेको छैन । नगदे बालीको रुपमा रहेको उखु उधारोमा कारोबार हुँदासमेत किसानहरुलाई निकै समस्या हुने गरेको छ ।

कारखानाभित्र २ वटा टरर्वाइन छन्, जसबाट ७ मेगावाट बिजुली उत्पादन गर्न सकिन्छ । कारखाना चालु भए कारखानालाई आवश्यक पर्ने बिजुली त्यहीँ उत्पादन गर्न सकिन्छ भने बाँकी केही बिजुली बेच्नसमेत सकिन्छ । कारखाना सञ्चालन ताका करिव २१ सय कर्मचारी कार्यरत रहेका उक्त चिनी कारखाना आज खण्डहरमा परिणत भएको छ ।

चिनी उत्पादनमा प्रयोग गरिएको महँगा र महत्वपूर्ण मेसिनहरुमा खिया लागेका कारण यही अवस्थामा चिनी मिल संचालनको अवस्थामा नरहेको वीरगन्ज उधोग बाणिज्य संघका अध्यक्ष डा. सुबोध गुप्ताले बताउनुभयो । चिनी मिल संचालनमा ल्याउने कुरा जायज भए पनि अहिलेकै अवस्थामा चिनी मिल संचालनको संभावना नै नरहेको उहाँले बताउनुभयो । तर, उखु उत्पादक संघ पर्साका अध्यक्ष असर्फी साहले भने चिनी मिल संचालन भए यस क्षेत्रका उखु कृषकहरुलाई त्यो भन्दा खुसीको कुरा केही हुन नसके पनि सरकारले सस्तो लोकप्रियताका लागि यो कुरा गरेका कारण चिनी मिल पुनः संचालनमा आशंका ब्यक्त गर्नुभयो ।

यसअघिका बिभिन्न सरकारले समेत चिनीमिल संचालनको कुरा गरेपनि व्यवहारमा कार्यान्वयन नभएका कारण यसपालीको घोषणालाई पनि आशंकाको रुपमा यहाँका नागरिकहरुले हेरेका हुन् ।

Leave a Reply