वीरगञ्ज,वीरगञ्जको नारायणी अस्पतालमा नवजात जन्मिएकी शिशुलाई छाडेर फरार भएकी आमाको प्रहरीले खोजी जारी राखेको छ । छोरी जन्मिएको भन्दै परिवारले झैझगडा गरेपछि शिशुलाई अस्पतालमै छोडेर आमा हिंडेकी हुन् ।वीरगञ्ज उपमहानगरपालिका वडा नम्बर ६ रानीघाटठेगाना टिपाएकी सीता देवीले शनिवार बिहान साढे ६ बजे अस्पतालमा शिशुको जन्म दिएकी थिइन् । छोरी जन्मिएपछि सीतासँग परिवारका सदस्यले झगडा गरेको अस्पतालका स्वास्थ्यकर्मीले बताएका छन । अस्पतालमै पनि परिवारजनले तनाव दिए जस्तो देखिएको उनीहरूको भनाई छ । सीतासहित परिवारका अन्य सदस्य पनि फागुन १२ गते दिनभर अस्पतालमै रहेको र साँझपख अस्पतालका स्वास्थ्यकर्मी र सुरक्षा गार्डको आँखा छलेर हिंडेको बताइएको छ ।

आइतवार मध्यान्नसम्म पनि उनीहरूलाई फेला पार्न नसकिएको अस्पतालले जनाएको छ । छोरी जन्मिएकै कारण आमा र हजुरआमा शिशुलाई अलपत्र छोडेर हिंडेको प्रसूति वार्डको नर्सिङ इन्चार्ज हेमा थापाले जानकारी दिनुभयो ।
शिशुको अवस्था सामान्य रहेको र एनआईसीयूमा राखिएको थापाले बताउनुभयो । अस्पताल वरपर खोजतलास गर्दा नभेटिएपछि प्रहरीलाई जानकारी गराइएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चितरञ्जन साहले जानकारी दिनुभएको छ ।उनीहरूले गलत ठेगाना टिपाएर गएकाले खोजीमा कठिनाइ भइरहेको जिल्ला प्रहरी कार्यालय, पर्साका प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाको भनाई छ । उनीहरूको खोजतलास जारी रहेको पर्सा प्रहरीले जनाएको छ ।



















