काठमाडौं – नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको तस्बिर प्रयोग गरी कृत्रिम बुद्धिमत्ता एआईमार्फत निर्मित भ्रामक तथा अपमानजनक सामग्री सामाजिक सञ्जालमा फैलाइएको भन्दै एमाले प्रचार विभागले आपत्ति जनाएको छ ।
प्रचार विभाग प्रमुख निरज आचार्यले आज बिहानैदेखि सामाजिक सञ्जालमा ओलीको तस्बिर प्रयोग गरी एआईबाट निर्मित भ्रामक, अनर्गल र अपमानजनक पोस्टरहरू सम्प्रेषण भइरहेको भन्दै आपत्ति जनाउनुभएको हो । डिजिटल प्रविधिको दुरुपयोग गरी पार्टी नेतृत्वको चरित्र हत्या गर्ने नियतका साथ यस्ता अराजनीतिक, अनैतिक तथा आपत्तिजनक गतिविधि गरिएको भन्दै आचार्यले त्यसको घोर निन्दा एवं भत्र्सना गर्नुभएको छ ।
आचार्यले यस्ता अराजक तथा घृणास्पद गतिविधि तत्काल बन्द गर्न सम्बन्धित पक्षलाई चेतावनीसमेत दिनुभएको छ ।
साथै, प्रचलित विद्युतीय कारोबारसम्बन्धी कानुनविपरीत साइबर अपराधमा संलग्न व्यक्तिहरूलाई तत्काल पहिचान गरी कडा कानुनी कारबाही गर्न नेपाल प्रहरीको साइबर ब्युरो तथा सम्बन्धित निकायको आचार्यले ध्यानाकर्षण गराउनुभएको छ ।
















