निजगढ,चुरे एवम् प्राकृतिक स्रोतको दोहन रोक्न माग राख्दै सप्तरीबाट शुरु गरिएको चुरे संरक्षण पत्रयात्रा शनिवार बाराको निजगढ आइपुगेको छ ।चुरे क्षेत्र संरक्षण लगायत विभिन्न ११ बुँदै मागअघि सारेर वैशाख १६ गते सप्तरीको भारदहबाट काठमाण्डौंसम्मको लागि पदयात्रामा निस्केका २५ जनाको टोली करिव २ सय किमी दुरी पार गरेर निजगढ आइपुगेको हो ।
टोलीलाई निजगढ ७ स्थित जनज्योति सामुदायिक वन समूहका पदाधिकारी र सब डिभिजन वन कार्यालयका कर्मचारीहरुले वन समूहको कार्यालयमा स्वागत गरिएको थियो । पदयात्रीहरु समूहको भवनमा नै बास बस्ने र आइतवार बिहान काठमाण्डौंको लागि यात्रा शुरु गर्ने कार्यक्रम रहेको जनज्योति सामुदायिक वन समूहका अध्यक्ष खडगबहादुर लामाले जानकारी दिनुभयो ।
सप्तरीको भारदहबाट शुरु गरिएको पदयात्रा निजगढ, पथलैया, चितवन हुँदै काठमाडौँसम्म पुग्ने चुरे तथा वनजङ्गल संरक्षण अभियानका अध्यक्ष सुनिलकुमार यादवले बताउनुभयो । काठमाण्डौं पुगेर पदयात्रीहरुले चुरे क्षेत्रको संरक्षणको माग गर्दै निराहार अनशनमा बस्ने कार्यक्रम रहेको उहाँले जानकारी दिनुभयो । ‘आफूहरूले उठाएको माग सम्बोधन नभएसम्म अन्नजल त्याग गरी अनशनमा बस्छौँ ।” यादवले भन्नुभयो ।पर्यावरण संरक्षणको माग राखेर अनशन बस्दा बिगतमा मधेस सरकारले गरेको ७ बुँदे सहमति कार्यान्वयन नगरेको बताउँदै अध्यक्ष यादवले सहमति कार्यन्वयन हुनुपर्नेमा जोड दिनुभएको छ ।
११ बुँदे मागअन्तर्गत चुरे क्षेत्रको अतिक्रमित जग्गा खाली गराएर वन क्षेत्र कायम गरिनुपर्र्ने, सङ्घीय सरकारले ल्याइएको ढुङ्गा, गिट्टी र बालुवा निकासी गर्ने विधेयक तत्काल खारेज गर्नुपर्ने, भूमि आयोग गठन गरी भूमिहीन तथा अव्यवस्थित बसोबासीहरुका लागि भूमिको व्यवस्था गर्नुपर्ने तथा मधेस प्रदेश वन प्रशासनलाई प्रभावकारी काम गर्ने योग्य बनाउनुपर्ने माग छ ।
त्यसैगरी, मधेश प्रदेशको सप्तरीदेखि पर्सा जिल्लामा पर्ने नदीनाला प्रदूषण, अतिक्रमण र अवैध उत्खननमुक्त बनाउनुपर्ने, ओमप्रकाश महतो भन्ने दिलीप महतोलाई पर्यावरण सहिद घोषणा गरी घरका सदस्यलाई रोजगार दिनुपर्ने, विभिन्न परियोजना तथा विकासका नाममा चुरे तथा वनजङ्गल मास्ने कार्य बन्द गरिनुपर्ने, मधेस प्रदेश वन तथा वातावरण मन्त्रालयको विभिन्न योजनामा भएको भ्रष्टाचारको छानबिन हुनुपर्नेलगायतका मागहरू रहेको अध्यक्ष यादवले बताउनुभएको छ ।

















