बारा,बारा कांग्रेशभित्र रहेको दुई गुटको विवाद उत्कर्षमा पुगेको छ । जिल्ला सभापती राजेश यादव र महासमिति सदस्य एवंम नेता शम्भुबहादुर बुढाथोकी पक्षबीचको विवाद उत्कर्षमा पुगेको हो ।

नेपाली कांग्रेश बारा जिल्ला सभापती राजेश यादवले नेता बुढाथोकीलाई पार्टीको सदस्यबाट निलम्बन गरेको पत्र सार्वजनिक गरेको दुई दिनपछि जिल्ला अनुशासन समितिका संयोजक अरुणकुमार यादवले मंगलवार केन्द्रीय सहमहामन्त्री एवम् खानेपानी मन्त्री उमाकान्त चौधरी, पूर्वसभासद राधेचन्द्र यादव र क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति रामप्रवेश प्रसाद यादवलाई पनि पार्टीको साधारण सदस्यसमेत नरहने गरी निलम्बन गरेको पत्र सार्वजनिक गर्नुभएको हो ।

सभापती यादव पक्षले सार्वजनिक गरेको पत्रमा अनुसाशन समितिको गत बैशाख २८ गतेको बैठकको निर्णय अनुसार नेता बुढाथोकीलाई पार्टीबाट निलम्बन गरिएको जनाइएको थियो । नेता बुढाथोकी पक्षका अनुसाशन समितिका संयोजक अरुणकुमार यादवले भने सहमहामन्त्री चौधरीसहित ३ जनालाई गत बैशाख २९ गते कारबाही गरेको पत्र मंगलवार सार्वजनिक गरिएको हो ।

स्थानीय निर्वाचनमा पार्टीको उम्मेदवारलाई हराउन अन्तर्घात गरेको उजुरीको आधारमा सहमहामन्त्री चौधरी, पूर्वसभासद यादव र क्षेत्रीय सभापती यादवलाई जिल्ला अनुशासन समितिको बैठकको निर्णय अनुसार साधारण सदस्य नरहने गरि निलम्बन गरिएको नेपाली कांग्रेस जिल्ला अनुशासन समिति बाराका संयोजक यादवले बताउनुभयो ।

संयोजक यादवका अनुसार मन्त्री चौधरीले नेपाली कांग्रेस सिम्रौनगढ नगरपालिकामा मेयर पदका उम्मेदवार विजयशंकर यादवलाई हराउन लोसपाका उम्मेदवार किशोरीप्रसाद कलवारको पक्षमा मत दिलाउन लगाएको आरोप लगाइएको छ भने पूर्वसभासद यादव र क्षेत्रीय सभापति यादवले महागढीमाई नगरपालिकाका उम्मेदवार उपेन्द्रप्रसाद यादवको विरूद्धमा जसपाका उम्मेदवार रामबाबु यादवको क्याम्पमै गएर मत मागेको र मत दिलाउन लगाएको भन्दै पार्टीको साधारण सदस्य समेत नरहने गरि निलम्बन गरिएको उल्लेख गरिएका छ ।

संघीय र प्रदेश सभा निर्वाचनको मिति नजिकिदै जाँदा सतहमा आएको कांग्रेसको विवादलाई आगामी निर्वाचनमा पार्टीको टिकट हत्याउने खेलको रुपमा हेरिएको छ । ४ महिनाअघिको पत्र सार्वजनिक गरेर दुबै पक्षले अर्को पक्षलाई सिध्याउने र जिल्लामा आफू पक्षधरलाई मात्र पार्टीको टिकट दिलाउने योजना बनाएको हुनसक्ने बताइएको छ ।

मंसिर ४ गते हुने निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवारको नाम सिफारिसको क्रममा पनि सभापति यादव र उपसभापती मनोज भट्टले छुट्टाछुट्टै सूचि पार्टीको मधेस प्रदेश समितिमा बनाएर पठाएका छन । संघीय संसदको लागि मन्त्री चौधरीको नाम क्षेत्रीय समितिको सिफारिसमा परेको छैन भने जिल्ला सभापति राजेशले जिल्ला समितिको लेटरप्याडमा चौधरीको नाम समावेश गरेर सिफारिस पठाउनुभएको छ ।

Leave a Reply