पानी मानिसका लागि मात्र नभइ सबै प्राणी तथा वनस्पतिका लागि समेत उत्तिकै आवश्यक छ । प्रकृतिदेखि सबैका लागि आवश्यक पर्ने पानीको महत्वको विषयमा योभन्दा थप कुरा बताइरहन पनि आवश्यक रहेन । तर, यही पानीको अभावमा वा शुद्ध पानी समेत खान नपाएर हाम्रा पूर्खा केहीले ज्यान गुमाए तर आज समय त्यस्तो छैन । आज कुनै पनि व्यक्ति पानी नै खान नपाएर मर्नुपर्ने अवस्था चैं छैन ।तर, सफा तथा पानीको प्रर्याप्ततामाथि भने प्रश्न छ । मधेस पानीका लागि यसै पनि सहज स्थान हो । तर आजकल मधेसमा नै पानीको अभाव देखिएको छ । वीरगञ्ज लगायतका स्थानमा नै पानीको अभाव भएपछि नागरिकहरुका लागि समस्या भएको छ । सामान्यरुपमा जमिनमुनि खनेर पनि पानी निस्कने मधेसमा नै पानीको अभाव हुनुको पछाडि त पक्कै पनि धेरै कारण छन् ।तैपनि पानीको अभावले आज मधेसका नागरिकहरु प्रताडित बन्न परेको अवस्था छ ।वीरगञ्जमा पानीको हाहाकार भएको भन्दै नगरबासीहरुले खानेपानीको माग गरेका छन् । खानेपानीका लागि स्थानीय सरकारले केही प्रयास पनि गर्न खोजेको जस्तो देखिन्छ । यद्यपि सार्थक प्रयास भएको छैन । आफ्ना नागरिकहरुका लागि खानेपानीको व्यवस्था गर्नु सरकारको दायित्व र कर्तव्य भएकाले तत्काल खानेपानीका विषयमा सरकारले नीति बनाउन आवश्यक छ ।

















