निजगढ,कक्षा १२ को परीक्षामा अर्काको नाममा परीक्षा दिदैगरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय बाराले कलैयाबाट २ जना नक्कली परीक्षार्थीलाई बिहीवार नियन्त्रणमा लिएको छ ।कलैयास्थित रामराजा बहुमुखी क्याम्पस केन्द्र “ख” बाट अर्काको प्रवेश पत्रमा आफ्नो फोटो टाँस गरी नक्कली परीक्षार्थी बनेर लेखा विषयको परीक्षा दिदैगरेका उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय कलैयाका अनुसार जिल्लाको बारा देवताल गाउँपालिका वडा नम्बर ५ बस्ने वर्ष ३० की किरण साह र अर्का एक जना नाबालिगलाई नियन्त्रणमा लिएको हो । जिल्लाको देवताल गाउँपालिका बस्ने वर्ष १७ की अर्का नक्कली नाबालिग परीक्षार्थीको नाम भने गोप्य राखिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिनुभयो ।जिल्ला प्रहरी कार्यालय कलैयाबाट खटिएको टोलीले नक्कली परीक्षार्थी हुनसक्ने आशंकामा छानबिन गर्दा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले बताएको छ । पक्राउ परेकाहरुलाई शिक्षा ऐन २०२८ सम्बन्धीको कसुरमा जिल्ला अदालत बाराबाट ४ दिनको म्याद थप गरी अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।



















