वीरगञ्ज, वीरगञ्ज बाइपासस्थित नबिल बैंकबाट करोडौं रकम चोरी गरेको घटनामा संलग्न रहेको आशंकामा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा दुई भारतीय र दुई नेपाली नागरिक रहेका छन् ।प्रहरीले उनीहरुको साथबाट चोरिएको एक करोड ३४ लाख ६५ हजारमध्ये केही रकम समेत बरामद गर्न सफल भएको छ । भारतको घोडासनमा लुकाएर राखेको अवस्थामा प्रहरीले रकम बरामद गरेको हो ।

बरामद गरिएको रकम कति छ भन्ने खुल्न सकेको छैन । घटनालगत्तै अनुसन्धानमा जुटेको प्रहरीले रौतहट मौलापुर नगरपालिका वडा नम्बर ७ पथराका छोटेलाल जयसवाल र सञ्जय जयसवाललाई पक्राउ गरेको हो । रात्री बसमा चढेर काठमाडौं जान लागेको अवस्थामा प्रहरीले रौतहटको मौलापुरबाट मंगलपार साँझ उनीहरुलाई पक्राउ गरेको हो ।
उता चोरीमा संलग्न रहेको आशंकामा भारतीय प्रहरीले भारतको घोडासहनबाट दुई भारतीय नागरिक ललनकुमार र मन्टु पासवानलाई नियन्त्रणमा लिएको छ । हाल भारतीय प्रहरीको नियन्त्रणमा रहेका उनीहरुलाई नेपाल ल्याउने प्रयास भईरहेको छ । उनीहरुको साथबाट रकम भेटिएको भन्ने जानकारी आए पनि पर्सा प्रहरीले पुष्टि गरेको छैन ।

चोरीमा पाँच जनाको संलग्नता रहेको थियो । जसमध्ये एक जना अझै फरार छन् । बैंकमा रहेको सिसिटिभी फुटेजमा पाँच जनाले पैसा राखेको बाकस फोडेर रकम चोरी गरेका थिए । उनीहरुले बोरामा हालेर पैसा लगेको दृश्य सिसिटिभीमा कैद भएको थियो ।प्रहरी स्रोतका अनुसार चोरीको अघिल्लो दिन उनीहरु वीरगञ्ज बस पार्कस्थित रानीपोखरी होटलमा बसेको खुल्न आएको छ । पक्राउ परेकामध्ये छोटेलालको नाममा कोठा लिएर उनिहरु होटलमा बसेका थिए ।पर्साका प्रहरी प्रवक्ता कुमारविक्रम थापाले बैंक चोरी घटनामा संलग्नमध्ये केहीलाई पक्राउ गरिएको पुष्टि गर्नुभएको छ । उहाँले रकम के कति बरामद भयो भन्ने पुष्टि हुन बाँकी रहेको जानकारी दिनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here