निजगढ,नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बाराका एसपी सन्तोष तामाङको जिम्मेवारी खोसेर हेडक्वार्टर तानिएकोप्रति आपत्ति जनाउनुभएको छ ।शनिवार काठमाडौंमा आयोजित जनप्रदर्शनपछिको सभालाई सम्बोधन गर्ने क्रममा उहाँले बाराका प्रहरी उपरीक्षक तामाङ्ग सरुवाप्रति टिप्पनी गर्दै यस्तो बताउनुभएको हो । एमाले अध्यक्ष ओली एसपी तामाङ्गलाई हेडक्वाटर तानिएकोमा आपत्ति पनि जनाउनुभएको छ ।
सिमरामा पछिल्लोपटक भएको घटनापछि शुक्रबार मात्रै बाराका एसपी तामाङलाई हेडक्वार्टर तानेको थियो ।
तर, ओलीले त्यसप्रति आपत्ति जनाउँदै प्रश्न गर्नुभएको छ, ‘के अब प्रहरी पनि जेनजी बनेर आइदिनुपर्ने ?’ उहाँले सरकारको यो कार्यलाई ‘तमासा’ को संज्ञा दिनुभएको छ ।‘प्रहरीको एसपीले जेनजीलाई सघाएन भनेर एसपीलाई तानियो । यो तमासा होइन ? त्यहाँ एयरपोर्ट बन्द गराउने नाटक गराउन कुनै जेनजी आएको थिएन,’ ओलीले भन्नुभयो, ‘अरु नै खालका अराजक तत्वहरू आएका थिए । त्यसलाई सरकारले रोक्नुपर्ने ठाउँमा, भिडन्त गर्ने ठाउँमा एसपी आएन भनेर एसपी तानिन्छ । प्रहरी के जेनजी बनेर आइदिनुपर्ने ?’
बारामा एमालेले युवा भेला गर्न लाग्दा माओवादी केन्द्र, रास्वपा, राप्रपा लगायतका हिन्दुवादी भनिएका अवान्छित व्यक्तिले हमला गरेको उहाँको आरोप छ ।‘अर्काको भेलामा यस्तो दख्खल गर्न मिल्छ ? तर गरियो । त्यो कार्यक्रमलाई फिका बनाउने काम बाहेक केही होइन । यस्ता काम नगर्न म सरकारलाई आग्रह गर्न चाहन्छु । नेकपा एमालेलाई उत्तेजति बनाउने, जिस्काउने काम नगर्नुस्,’ ओलीले भन्नुभएको छ । ‘तपाईंहरू लोकतन्त्रलाई यो भन्दा बढी आक्रमण गर्न सकिन्छ भन्ने भ्रम नपाल्नुस् । जे गर्नु भयो गर्नु भयो । अब यो भन्दा अघि बढ्न सक्छौं भन्ने ठान्नु भयो भने तपाईंहरूका लागि पनि हितकर हुने छैन । म स्मरण गराउन चाहन्छु ।’
त्यसैगरी सभालाई शंवोधन गर्दै अध्यक्ष ओलीले वर्तमान सरकारसँग चुनाव गराउने पनि अधिकार नभएको दाबी गर्नुभएको छ । उहाँले प्रधानमन्त्री सुशीला कार्कीसँग चुनाव गराउने पनि अधिकार नभएको बताउनुभएको हो ।
‘तपाईंसँग चुनाव गराउने पनि अधिकार छैन,’ ओलीले भन्नुभएको छ । साथै, उहाँले कार्की आगजनी गरेर, लुटपाट गरेर, विश्वंस मच्चाएर मात्रै सरकारमा पुगेको आरोप लगाउनुभयो ।‘अहिले शासन विधिको त कुरै छाडिदिउँ, व्यक्ति त अनधिकृत व्यक्ति, उत्पातबाट सिर्जना भएको सरकार बनेको छ । तपाईंहरू लोकतन्त्रमा विश्वास गर्नुहुन्छ कि हुन्न बताउनुस् ? यही हो लोकतन्त्र ?,’ ओलीले भन्नुभएको छ ।
उहाँले वर्तमान सरकारको संवैधानिक परीक्षण अदालतबाटै हुनुपर्ने जिकिर पनि गर्नुभएको छ । ‘यस्तो सरकारको संवैधानिक परीक्षण सम्मानित अदालतबाट हुनैपर्छ,’ अध्यक्ष ओलीले भन्नुभयो । ‘संविधानले कुनै हालतमा यो सरकारलाई उचित ठह¥याउने ठाउँनै छैन । कोर्टले यसलाई संवैधानिक ठह¥याउनै सक्दैन ।’अदालतमा गएर यो कामको नेतृत्व एमालेले गर्ने ओलीको भनाई छ ।उहाँले एमाले देशमा शान्ति, सुव्यवस्था भएको, लोकतान्त्रिक व्यवस्था स्थापना र त्यसको प्रयोगका लागि बनेको दाबी समेत गर्नुभयो ।
‘यस देशको स्वाभिमानको रक्षाका लागि बनेको पार्टी हो । यो पार्टी देशमा शान्ति, सुव्यवस्था भएको, लोकतान्त्रिक व्यवस्था स्थापना र त्यसको प्रयोगका लागि बनेको पार्टी हो,’ ओलीले भन्नुभयो, ‘जनतालाई सहज ढंगले सेवा सुविधा उपलब्ध गराउने उद्देश्यका साथ स्थापित भएको हो । सुशासनयुक्त, शान्तियुक्त समाज स्थापनार्थका लागि बनेको पार्टी हो । देशलाई समृद्ध नेपाल सुखी नेपालीको उद्देश्यमा पु¥याउन बनेको हो ।’
एमाले भन्ने पार्टी देशमा छ भन्ने कुरा सबैले बुझ्नुपर्ने उहाँको भनाई छ ।‘यो देशमा नेकपा एमाले छ, सबैले बुझ्नुपर्नेछ । तसर्थ कसैले कुनै हिसाबले, कुनै तरिकाले अवैध र असंवैधानिक, अलोकतान्त्रिक ढंगले देशमा कुनै गडबडी मच्चाएर एकछिनका लागि सरकार कब्जा गरिहाल्यो भने हामी फेरि लोकतान्त्रिक प्रक्रियामा फर्काएर छाड्छौं,’ ओलीले जिकिर गर्नुभएको छ ।मिचिएको संविधानलाई नमिचिने अवस्थामा फेरि फर्काएर ल्याउने पनि ओलीको उद्घोष थियो ।


















