सिमरा,पर्सा राष्ट्रिय निकुञ्जले पर्यटन प्रवद्र्धन गर्न चितवन राष्ट्रिय निकुञ्जसँग सहकार्यको तयारी गरेको छ ।चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकलाई एउटै टिकटमा पर्सासम्म र पर्सा निकुञ्ज प्रवेश गर्ने सहज ढङ्गले चितवनसम्म घुम्न सकिने व्यवस्था मिलाउन लागिएको हो ।४०औँ वार्डेन सम्मेलनबाट पर्सा–चितवनलाई एउटै प्याकेज बनाएर पर्यटन प्रवर्द्धन गर्ने विषयमा निर्णय भइसकेको पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र खतिवडाले जानकारी दिनुभयो ।

पर्सामा पनि चितवन राष्ट्रिय निकुञ्जमा पाइने सबै खाले दुर्लभ वन्यजन्तु, चराचुरुङ्गी पाइन्छन् । यी दुवै निकुञ्जलाई सँगसँगै लैजान सके पर्या–पर्यटनमा ठुलो फडको मार्न सकिने प्रमुख संरक्षण अधिकृत रामचन्द्र खतिवडाको भनाई छ ।
चितवन राष्ट्रिय निकुञ्ज अन्तर्राष्ट्रिय रूपमा ब्राण्डिङ भइसकेको अवस्थामा चितवनसँग प्रतिस्पर्धा गरेर जान पर्सामा सम्भव नभएको उहाँको भनाई छ । चितवनको प्रवेशद्वारबाट पर्सासम्म र पर्सा निकुञ्जबाट प्रवेश गरेको पर्यटक चितवनसम्म सहज ढङ्गबाट घुम्न सक्ने व्यवस्था मिलाउन मन्त्रालय तहबाट कानुनी र नीतिगत निर्णय भयो भने मात्रै दुवै निकुञ्जको एकीकृत रूपमा विकास हुने उहाँले बताउनुभयो ।यस विषयमा दुवै निकुञ्जसँग जोडिएका पर्यटन व्यवसायी, मध्यवर्ती क्षेत्रका पदाधिकारी निकुञ्ज प्रशासनबीच छलफल भएर सहमति भइसकेको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ ।

चितवन राष्ट्रिय निकुञ्ज विश्व सम्पदा सूचीमा सूचीकृत छ । सो निकुञ्जमा नेपाली, भारतीय तथा तेस्रो मुलुकबाट बर्सेनि ३ लाखभन्दा बढी पर्यटक अवलोकन गर्न आउँने गरेकाछन् ।चितवन निकुञ्जले गत वर्ष मात्रै टिकट शुल्कबाट ३० करोडभन्दा बढी राजस्व सङ्कलन गरेको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर बुर्जा पुनले जनाउनुभयो । उहाँले चालु आर्थिक वर्षको फागुन मसान्तसम्म मात्रै टिकटबाट २६ करोड राजस्व सङ्कलन भइसकेको जानकारी दिनुभयो । चितवन निकुञ्ज प्रवेश गर्ने ७० देखि ८० प्रतिशत पर्यटक सौराहा हुँदै प्रवेश गर्नेगरेका छन ।

चितवन राष्ट्रिय निकुञ्जको माध्यमबाट पर्यटन व्यवसायबाट होटल तथा पर्यटन क्षेत्र, अन्य व्यापार व्यवसायमा प्रत्यक्ष÷अप्रत्यक्ष रूपमा अर्बौँको आम्दानी भएको छ । तर पर्सा राष्ट्रिय निकुञ्ज भने वर्षभरि नै सुनसान देखिन्छ ।
पूर्व–पश्चिम राष्ट्रिय निकुञ्जसँग जोडिएको पर्सा निकुञ्जको बाटो हुँदै बर्सेनि हजारौँको सङ्ख्यामा भारतीय पर्यटक सौराहा जान्छन् । गत वर्ष पर्सा राष्ट्रिय निकुञ्जमा छिटपुट भारतीयसहित करिब एक हजार आन्तरिक पर्यटक पर्सा निकुञ्ज घुम्न आएका थिए भने यस वर्ष शून्य बराबर नै छ ।पर्सा निकुञ्जभित्र पर्यटकहरूका लागि अवलोकन गर्ने प्रशस्त प्राकृतिक तथा मनमोहक दृश्य, दुर्लभ वन्यजन्तुहरूको वासस्थान भए पनि प्रचारप्रसारको अभावमा यो निकुञ्ज ओझेलमा परेको छ ।
पर्सा राष्ट्रिय निकुञ्ज जङ्गली हात्तीको मुख्य वासस्थान हो । निकुञ्जभित्र दुर्लभ पाटेबाघ, गौरीगाई, गैँडा, भालु, सालक, जरायो, चितुवा, चित्तललगायत ३७ प्रकारका स्तनधारी जनावर, ४९० प्रकारका चराचुरुङ्गी, १३ प्रजातिका सरीसृप र ३१ प्रकारका पुतली अवलोकन गर्न सकिन्छ ।

पर्सा निकुञ्जका प्रमुख संरक्षण अधिकृत खतिवडा तत्कालका लागि चितवन घुम्न आएका २० प्रतिशत पर्यटकलाई मात्रै पर्सामा भित्र्याउन सके ठुलो उपलब्धि हुने बताउनुहुन्छ । ४०औँ वार्डेन सम्मेलनमा खतिवडाले राखेको प्रस्तावमा सहमति भए पनि राजस्व घट्न सक्ने सम्भावना भएकाले चितवनले स्वीकार गरिनसकेको उहाँको भनाई छ ।

Leave a Reply