सोमबार वैशाख ११ गतेको लोकतन्त्र दिवसमा जनतामा केही उत्साह देखिएन । यसबाट राजनीतिक दलका नेता र कार्यकर्ताले पाठ लिन नसके जनताले अनेकरुपमा दण्डित गर्दै जाने स्थिति पनि देखिएको छ ।अझै बैशाख १० गतेको मतगणनाका नतिजाहरु हेर्दा जनताले पुराना पार्टीका नेताहरुभन्दा नयाँ नेताहरु चयन गरेका छन् । नयाँ नेताहरु र दलहरु पनि कुनै वैचारिक योजनाभन्दा लोक–रिझाइ र प्रियतावादी राजनीतिमै मस्त रहेको पनि देखिन्छ । यसले गर्दा जनताको हातमा निराशाबाहेक अरु केही नपर्ने हो त ? भन्ने प्रश्न पनि उठ्ने गरेको छ ।यसतर्फ नेताहरुले गम्भीररुपमा चिन्तनमनन नगर्ने हो भने मुलुक दुघर्टनामा पर्ने सम्भावना सधैँ रहिरहनेछ । यो उपनिर्वाचनमा जनताका मुद्दामा वैचारिक बहस भएन । दलका उम्मेदवारहरु जसरी भए पनि जित्ने उद्देश्यबाट मात्र प्रेरित भएको देखियो । राजनीतिक दलहरुले उपनिर्वाचनलाई प्रतिष्ठाको लडाइँ बनाएका थिए । ती सबै आ–आफ्नो सत्तास्वार्थबाट प्रेरित भएको देखियो । जनताले खराब र कम खराबहरु छनोट गर्नुपर्ने बाध्यताका बीच आ–आफ्नो हिसाबले मत दिएका छन् ।आजसम्म जनताले दिएको मत अनुरुप राजनीतिक व्यवहार चलेको कहिले छ र ? उपनिर्वाचन सकिएपछि नेताहरु आ–आफ्नो सत्तास्वार्थतिर लाग्नेछन् र अर्को निर्वाचनमा पुनः जनतालाई ढाँट्न आउँछन् भन्ने आम बुझाइ रहेको छ । राजनीतिक दल, तिनका नेता र कार्यकर्ताहरुले लोकतन्त्रलाई सत्ताको भ¥याङको तहसम्म मात्र बुझ्ने अनि यसैको सेरोफेरोमा रही अभ्यास गर्ने गर्दै आएका छन् ।

Leave a Reply