वीरगञ्ज । पर्सा जिल्लाको पर्सागढी नगरपालिका– ३ स्थित राष्ट्रिय वन क्षेत्रबाट अवैध रूपमा कटान गरी ल्याइँदै गरेको शालको काठ बरामद गरिएको छ ।वीरगञ्ज सबडिभिजन वन कार्यालय, बढनिहारबाट खटिएको वनकर्मीहरूको टोलीले शनीवार बिहान विशेष सूचनाको आधारमा सात वटा साइकलमा लोड गरिएको काठ नियन्त्रणमा लिएको हो ।जमदार जितबहादुर तामाङको कमाण्डमा खटिएको टोली पर्सागढीको फ्याक्ट्री क्षेत्रदेखि उत्तरतर्फको बाटो हुँदै काठ ल्याइँदै गरेको जानकारी प्राप्त भएपछि उक्त स्थानमा पुगेको थियो । टोली पुगेको देखेपछि काठ तस्करहरू साइकल र काठ फालेर फरार भएको जमदार तामाङले जानकारी दिनुभयो ।

बरामद गरिएको करीब ३२ क्युफिट शालको काठ र सात वटा साइकल हाल सबडिभिजन वन कार्यालय, बढनिहारमा सुरक्षित रूपमा राखिएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान र तस्करहरूको खोजी कार्य जारी रहेको बताइएको छ ।
वन कार्यालयले राष्ट्रिय वन क्षेत्रको संरक्षणमा सबैलाई सहकार्य गर्न आग्रह गर्दै अवैध काठ तस्करीजस्ता गतिविधिमा संलग्नहरूलाई कानुनी कारबाही गरिने चेतावनी दिएको छ ।

Leave a Reply