कलैया,बारा प्रहरीले सञ्चालन गरेको जाँच अभियानको क्रममा एक करोड रुपैयाँभन्दा बढी मूल्यका सामान लोड रहेका दुई वटा ट्रकलाई नियन्त्रणमा लिएको छ । प्रहरीले बिल भरपाई नभएको र स्रोत खुलाउन नसकेको सामानसहित विभिन्न स्थानबाट ट्रकहरू नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रकाश सापकोटाका अनुसार ती ट्रकहरुबाट १ करोड ५ लाख ९५ हजार ५२८ रुपैयाँ बराबरका सामान बरामद गरिएको छ । नियन्त्रणमा गरिएका ट्रक र बरामद सामानलाई आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय, पथलैयामा बुझाइएको छ ।प्रहरीले जीतपुरसिमरा उपमहानगरपालिका– ७ स्थित जीतपुर चोकबाट पर्साबाट सप्तरीतर्फ जाँदै गरेको ना ५ ख २६०९ नम्बरको डिब्बा ट्रक नियन्त्रणमा लिएको थियो । ट्रकबाट ७३ लाख ८४ हजार ४१७ रुपैयाँ बराबरका टायर, पाइप, औषधि, स्प्रे ट्याङ्कलगायतका सामान बरामद गरिएको प्रहरीले बताएको छ ।त्यस्तै, जीतपुरसिमरा– १ पथलैया चोकबाट वीरगञ्जबाट चितवनतर्फ जाँदै गरेको ना ३ ख ५०३९ नम्बरको ट्रक पनि प्रहरीले नियन्त्रणमा लिएको थियो । ट्रकबाट ३१ लाख ५१ हजार १११ रुपैयाँ बराबरका टायर, मोटर पाट्र्स, केमिकल पाउडर र इलेक्ट्रोनिक सामान बरामद भएको छ ।
त्यसैगरी महागढीमाई नगरपालिका– ७ स्थित तेलकुवा क्षेत्रबाट ६० हजार रुपैयाँ मूल्यका कस्मेटिक सामान पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।प्रहरीले सामानहरूको बिल भरपाई र स्रोत स्पष्ट पार्न नसकेका कारण सामानलाई बरामद गरी ट्रकहरूलाई नियन्त्रणमा लिएको जनाएको छ ।