कलैया,माछाको सुपरजोन घोषणा भएको बारा जिल्लाका माछापालक किसानहरु व्यवसायबाट पलायन हुन थालेका छन । माछापालनबाट पर्याप्त आम्दानी लिन नसकेपछि बाराका किसानहरु व्यवसायबाट पलायन हुन थालेका हुन ।
सरकारले माछाको पकेट क्षेत्र घोषणा गरेपछि बारा जिल्लाका किसानहरु व्यवसायिक माछापालनतर्फ आकर्षित बनेका थिए । तर केही समयदेखि किसानले उत्पादन गरेको माछाले उचित मूल्य नपाएको र मुनाफा थोरै हुने गरेको किसानहरूले बताएका हुन् । माछालाई खुवाउने दानाको मूल्य आकासिएको, श्रमिक र व्यवसायको क्रममा बेलाबेलामा हुने क्षति समेतको लागत जोड्दा मूनाफा कम हुने गरेको सिम्रौनगढका माछापालक किसान सिकन्दर साहले बताउनुभयो । खर्चअनुसारको आम्दानी नभएपछि पेसाबाट पलायन हुनुपर्ने अवस्था आएको उहाँले बताउनुभयो ।
किसान साहले माछापालनको लागि भुराको व्यवस्थापन समयमा हुन नसकेको, खरिद गरेको भुराको गुणस्तरको ग्यारेन्टी नभएको र वर्षाको बाढीमा माछा बग्नुका साथै बेलाबखत माछाहरू पोखरीमा मर्ने जस्ता घटनाले माछापालक किसानलाई खासै मुनाफा नहुने गरेको बताउनुभयो ।
पाँच वर्षअगाडि दानाको मूल्य प्रतिकिलो २८ रुपैया रहेकोमा अहिले मूल्य बढेर ५२ रुपैया प्रतिकिलो पुगेको उहाँले बताउनुभयो । पोखरीबाट माछा झिक्ने माझीहरूले प्रत्येक पटक उत्पादित माछाबाट दश प्रतिशत रकम लिने प्रथा यथावत् रहेको र व्यापारीहरूले पनि पाँच किलोमा डेढ किलो बढी लिने गरेको साहले सुनाउनुभयो ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यान्वयन एकाइ परियोजना सुपरजोनका पूर्वअध्यक्ष जालन्धर सिंहले बारामा माछा उत्पादन बढेसँगै चुनौती पनि बढिरहेको बताउनुभयो । उहाँले बारा जिल्लामा रहेका १२ वटा ह्याचरीबाट जिल्लामा माछाका भुराको आवश्यकता पूरा नभएको र हेटौंडाबाट भुरा मगाउनु पर्ने बाध्यता रहेको बताउनुभयो ।
यसैगरी गुणस्तरीय दानाको कमी, आवश्यकता अनुसार प्राविधिक सहयोग उपलब्ध नहुनु, माछाको मूल्य नबढ्नु तर दाना, मजदुरको ज्याला बढ्नु, बाढीले माछा बगाउनु र अज्ञात रोगको प्रकोपबाट माछा मर्ने जस्ता समस्याहरू झेल्दै आउनुपरेको उहाँले बताउनुभयो ।
नेपालमा माछाको कुल मागमध्ये पैंतीस प्रतिशत बारा जिल्लाबाट पूर्ति हुने गरेको पनि उहाँले बताउनुभयो । प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यान्वयन एकाइ परियोजना सुपर जोनका कृषि अधिकृत दीपकुमार मित्रले बारा जिल्लामा १२ वटा ह्याचरी र एक हजार ६ सय २५ वटा पोखरी रहेको जानकारी गराउनुभयो । उहाँले बारा जिल्लाको सिम्रौनगढ, बोधवन, पचरौता र कोल्हवीमा सबैभन्दा बढी माछापालन हुने गरेको बताउनुभयो ।
अत्याधिक माछापालन हुने गरेकोले बाराको कोल्हबी नगरपालिकास्थित वोध गाउँको महिचान नै बदलिएको छ । हिजोआज सो गाउँ ‘माछा गाउँ’ को नाममा चिनिन थालेको छ । त्यसैगरी सिम्रौनगढ क्षेत्रमा पनि किसानहरु माछापालनतर्फ आकर्षित बनेका छन । सो क्षेत्रमा मात्रै २८ वटा प्राकृतिक पोखरी रहेको कृषि अधिकृत मित्रले बताउनुभयो ।
बारा जिल्लामा सबैभन्दा बढी सिम्रौनगढ क्षेत्रमा माछा उत्पादन हुदै आएको छ । कृषि अधिकृत मित्रका अनुसार बारा जिल्लाभरि वार्षिक साढे सात मेट्रिक टन माछा उत्पादन हुने गरेको छ । बारा जिल्लामा उत्पादित माछा काठमाडौं, पोखरा, झापा, बिर्तामोड, मलेखु लगायतका क्षेत्रमा व्यापारीहरूले खरिद गरेर लैजाने गर्दै आएका छन ।


















