निजगढ, ३० भदौँ– निजगढ नगरपालिकाले बकैया र धन्सार खोलाबाट स्थानीय केहीले अवैध रुपमा उत्खनन गरी राखेको करिव १० हजार ५ सय ८ दशमलव २ घनमिटर ढुङ्गा मंगलबार जफत गरेको छ ।
नगरपालिकाका प्रमुख सुरेश खनाल, उपप्रमुख लिलादेवी लामिछानेसहित नगरपालिकाबाट गएको कर्मचारी र सुरक्षाकर्मीको टोलीले वडा नम्बर– १ स्थित धन्सार र वडा नम्बर– ४ र ९ को बकैया खोलाबाट निषेधित अवधिमा पनि संकलन गरी घाटगद्दिमा राखिएको ढुङ्गा जफत गरेको हो ।
नगरपालिकाले धन्सार खोलाको १ हजार १ सय ७६ दशमलव ७० घनमिटर र वडा नम्बर ४ को बकैया खोला किनाराबाट ८ हजार २ सय २६ तथा वडा नम्बर– ९ बाट १ हजार १ सय ५ दशमलव ५ घनमिटर ढुङ्गा जफत गरेको हो । जफत भएको ढुङ्गा करिव ६ यस १० टिपर (१० चक्के) बराबर रहेकोको र त्यसको प्रचलित मुल्य करिव ६१ लाख रुपैया हुने नगरपालिकका सवइन्जिनियर नविन खनालले जानकारी दिनुभयो ।
उहाँले वडा नम्बर– ४ को बकैया खोला किनारामा राखिएको ठुलो परिमाणको थप अवैध ढुङ्गाको नाँपचाँज गर्न बाँकी रहेको र बुधबार बिहान उक्त ढुङ्गा पनि जफत गरिने बताउनुभयो । प्राविधिक कर्मचारीसहितको टोलीले घाटगद्दि स्थानमानै पुगेर नापचाँच र चिन्ह लगाएर सम्बन्धित वडा नम्बर १ का वडा अध्यक्ष मंगले लोप्चन, ४ का अध्यक्ष जयराम कुँवर र ९ का कार्यवहाक वडा अध्यक्ष गोकुल न्यौपानेको रोहबरमा मुचुल्का बनाएर ढुङ्गा जफत गरेको हो ।
नगरप्रमुख खनालले विभिन्न संचार माध्यममा खोला बगरबाट अवैधरुपमा उत्खनन गरेर घाटगद्दि गरिएको भन्ने समाचार प्रशारण भएपछि नगरकार्यपालिका बैठकको निर्णयअनुसार ढुङ्गा जफत गरिएको बताउनुभयो । ‘पटकपटक कार्यालयमा बोलाएर सम्झाइबुझाइ गर्दा पनि व्यवसायीहरुले अटेर गर्दै आएका थिए, प्रमुख खनालले भन्नुभयो, अब जफत गरिएको सबै ढुङ्गा लिलाम बिक्री हुने छ ।’ प्रमुख खनालले कानुन हातमा लिएर काम गर्ने अधिकार कसैलाई नभएको पनि बताउनुभयो । यसअघि नगर कार्यपालिकाको आइतबार बसेको बैठकले निषेधित अवधिमा खोला बगरबाट उत्खनन गरेर घाटगद्दि स्थानमा राखेको ढुङ्गा जफत गर्ने निर्णय गरेको थियो ।
प्रचलित कानुनअनुसार हरेक वर्ष वर्षायामको असारदेखि भदौँसम्म ३ महिना खोला बगरमा प्रवेश गर्न रोक लगाएको छ । तर कानुन उल्लघन गर्दै स्थानीय केही टेक्टरधनीले वीरगंज, सिमरा र निजगढ बजार क्षेत्रका व्यापारीबाट अग्रिम भुक्तानी लिएर खोला बगरबाट ढुङ्गा निकालेर स्टक गर्दै आएका थिए । स्थानीयकाअनुसार असोज १ गतेबाट निकासी खुलेपछि बाहिर लैजाने योजनामा ढुङ्गा स्टक हुदै आएको हो ।