निजगढ,बारास्थित ईलाका प्रहरी कार्यालय अमलेखगञ्जमा कार्यरत वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई) पूर्ण बिसीले हराएको पेस्तोल अझै फेला परेको छैन ।गाँजा तस्करहरुलाई लखेटन जाने क्रममा गत सोमवार राति ईलाका प्रहरी कार्यालय अमलेखगन्जका वरिष्ठ सई बिसीले बोकेको पेस्तोल हराएको थियो । खोजी कार्य जारी राखिएको भए पनि पेस्तोल अझै नभेटिएको जिल्ला प्रहरी कार्यालय बाराका डिएसपी दधिराम न्यौपानेले जानकारी दिनुभयो । पेस्तोलको खोजी कार्य जारी राखिएको पनि डिएसपी न्यौपानेले बताउनुभयो ।
गाँजा तस्करी भइरहेको सूचना पाएपछि बरिष्ठ सई बिसीको टोली अप्रेशनमा खटिएको थियो । अप्रेसनका क्रममा प्रहरीले एकजना मान्छेलाई समेत नियन्त्रणमा लिए पनि गाँजा भने भेटिएको थिएन । गाँजा नभेटिएको भन्दै टोलीसंगै फर्किनुभएका सई बिसीले कार्यालयमा आएपछि मात्रै पेस्तोल हराएको पत्तो पाउनुभएको थियो ।प्रहरी टोली तत्काल फर्किएर खोजी थालेको र सोही क्रममा बेवारिसे अवस्थामा १२ केजी गाँजा फेला परेको तर पेस्तोल नभेटिएको डिएसपी न्यौपानेको भनाई छ । पेस्तोलमा १० राउन्ड गोली लोड गरिएको थियो ।
















