कलैया,कलैया उपमहानगरपालिकाकी एक दलित महिला जनप्रतिनिधिलाई मध्यरातमा घरबाट बाहिर निकालेर खम्बामा बाँधेर कुटपिट गरिएको छ । कलैया उपमहानगरपालिका वडा नं.२७ कि दलित महिला सदस्य तारा देवी पासवानलाई गत बुधबार मध्य राति खम्बामा बाँधेर कुटपिट गरिएको हो । कुटपिटबाट पासवान सामान्य घाइते हुनुभएको छ । एकजना छिमेकीको बुहारी अर्कै केटासंग भगाउन सघाएको भन्दै स्थानीय ४५ वर्षीय जोगिन्द्र साह नेतृत्वको समूहले वडा सदस्य पासवानलाई खम्बामा बाँधेर कुटपिट गरेको प्रहरीले जनाएको छ ।
कुटपिटको क्रममा उहाँको लुगासमेत च्यातच्युत पारिएको थियो । जनप्रतिनिधिलाई खम्बामा बाँधेर कुटपिट गरिरहेको खबर प्राप्त भएपछि राति करिब साढे ११ बजे घटना स्थल पुगेको प्रहरीले पासवानको उद्धार गरी जिल्ला अस्पताल कलैया ल्याएर उपचार गराएको बाराका प्रहरी प्रवक्ता डिएसपी गौतम मिश्रले बताउनुभयो । उहाँका अनुसार प्रहरी पुगेपछि कुटपिट गर्नेहरु भागेका थिए ।
कुटपिट गर्नेको नेतृत्व गर्ने जोगिन्द्र साहलाई प्रहरीले पक्राउ गर्न सफल भएको र अन्यको खोजी कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ । कुटपिट गर्ने साह लगायत ८ जनाविरुद्ध समाजिक अपराध अन्तर्गत अभद्र तथा अमानवीय व्यवहार मुद्दा शुक्रबार दर्ता भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।