हुन त असंभव भन्ने कुरा केही पनि छैन । मानिस सूर्य जस्तो तातो पदार्थमा समेत पुग्ने हिम्मत गर्दैछ भने बाराको निजगढमा विमानस्थल बनाउने कुरा असंभव चैं होइन तर यसका लागि लगानीकर्ता अनि सरकारको प्रतिबद्धता मात्र होइन कार्यान्वयनको दृढ प्रतिबद्धता आवश्यक छ ।
बाराको निजगढमा विमानस्थल बन्ने कुरा भएको पनि एक दशक भइ नै सकेको छ तर यो कुरा मात्र भएको छ भन्दा हुन्छ । एक दशकभन्दा लामो समयसम्म यो विषयले चर्चा पाए पनि सामान्यभन्दा बाहेक काम भएको छैन ।
बाराको निजगढ क्षेत्रमा विमानस्थल बनोस् भन्ने चाहना यस भेगका नागरिकहरुको हुनु स्वभाविक पनि हो । आखिर विकास त जसलाई पनि चाहन्छ नै । यहाँका नागरिकहरुको विमानस्थल बन्ने सपना देखेको र देखाएको पनि धेरै भयो तर सपना विपनामा कहिले परिणत होला भन्ने कुरा चैं निकै महत्वपूर्ण छ । सपना विपनामा परिणत सजिलैसंग हुने कुराको संभावना भने कम छ । त्यसो त सिधै यसोभन्दा नकारात्मक कुरा पनि होला ।
तर, सरकारमा रहेकाहरुको रबैया हेर्ने हो भने यही पुस्ताले सहज रुपमा निजगढबाट हवाइजहाज चढ्ने संभवना कमै छ । कालान्तरमा गएर बन्ला तर अहिले नै अथवा अबको दशकभित्र पनि यो स्थानमा विमानस्थलको काम समेत भयो भने पनि ठूलै काम भएको मान्नु पर्दछ ।खासै प्रकृया नै शुरु नभएका कारण तत्काल बन्ने संभवना भने सपना नै हो । दशकपछि बनेको खण्डमा पनि विकास त हुने थियो तर यसमा पनि आशंका छ । त्यसैले पनि यो एक सपना नै भएको छ ।
















