पुष्पराज खतिवडा

मनहर्वा,जीतपुरसिमरा उपमहानगरपालिका १८ को उचिडीमा आधारभुत स्वास्थ्य सेवा केन्द्रको उद्धाटन गरिएको छ । सेवा केन्द्रको मंगलबार विहान उपमहानगर प्रमुख राजन पौडेलले रिवन काटेर उद्धाटन गर्नुभएको हो ।

कार्यक्रमका प्रमुख अतिथिसमेत रहनुभएका पौडेलले नगरले दिने सेवा सहजीकरणका लागि काम भैरहेको बताउनुभयो । “हामी सहज सेवाका लागि सिस्टम विकासलाई प्राथमिकतामा राखेर काम गरिरेहका छौं, उहाँले भन्नुभयो, छिटो, छरितो र सुलभ रुपमा सेवा प्राप्त गर्नु जनताको अधिकार हो ।”

डोजर लिएर अर्काका घरका भित्ता फोर्ने र कुचो लिएर सडक सफा गर्ने कामलाई मात्रै काम देख्ने गलत परिपाटी बसेको भन्दै उहाँले मेयरको काम नगरको समग्र क्षेत्रको विकासलाई सिस्टममा ल्याउनेतर्फ केन्द्रीत हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा नगर जनस्वाथ्य अधिकृत रविकुमार भाष्करले सरकारको वडाहरुमा स्वास्थ्य सेवा विस्तार गर्ने योजना अनुसार स्वास्थ्य केन्द्रको उद्धाटन गरिएको बताउनुभयो । केन्द्रबाट हाल २ जना स्वास्थ्यकर्मीले सेवा दिने छन् । क्षयरोग विरुद्धको औषधीसँगैं ३५ प्रकारका औषधी र १२ प्रकारका खोप सेवा संचालन हुनेछ । गर्भवती परीक्षण सेवा सहित सरकारले दिने अन्य सेवा नियमित रुपमा स्वास्थ्य केन्द्रबाट पाइने उहाँले बताउनुभयो ।

कार्यक्रममा नगर उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष संजय साह, नगर जनस्वास्थ्य कार्यालय सिमराका सिनियर अहेव अधिकृत जीतन ठाकुर, नगरपालिका वडा नं.१८ पूर्ववडा अध्यक्ष अर्जुन दाहाल, वडा सचिव सीमा उप्रेती, स्थानीय सामाजिक अगुवा राम न्यौपाने, कमलाकुमारी न्यौपानै, बसन्त खतिवडा, लक्ष्मीमाया वल, चेतबहादुर आले, शिव ढुँगाना लगायतकाले बोल्नुभएको थियो । उहाँहरुले ग्रामीण क्षेत्रको स्वास्थ्य समस्यालाई दर्शाउँदै गाउँमा कम्तीमा ५ शैयाको अस्पताल आवश्यक भएको बताएका थिए । स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन बजारमात्रै नभएर ग्रामीण क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिदिन नगरप्रमुखसँग स्थानीयले माग गरेका छन ।

वडा नं.१८ का अध्यक्ष चतुरबाबु वाग्लेको अध्यक्षतामा भएको कार्यक्रम युनिभर्स यूथ क्लब दि रुरलका अध्यक्ष कविराज वाग्लेको स्वागत एवं स्थानीय समाजसेवी विष्णुप्रसाद न्यौपानेको संचालनमा सम्पन्न भएको हो ।

Leave a Reply