खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था निजगढको कार्यालयमा हप्ताको एक दिनमात्रै बिदा दिइने भएको छ ।संस्थाका अध्यक्ष सुदर्शनप्रसाद कोइरालाले हिजो एउटा सूचना सार्वजनिक गरेर हप्ताको एक दिन शनिवारमात्रै कार्यालय बन्द हुने जनाउनुभएको हो ।
नेपाल सरकारीले हालैबाट सरकारी कार्यालयमा शनिवार र आइतवार गरी हप्ताको दुई दिन बिदा घोषणा गरेको भएपनि निजगढको खानेपानी कार्यालय भने पूर्ववत शनिवार एक दिनमात्रै बन्द रहने कोइरालाले जानकारी दिनुभएको छ ।

सूचनामा भनिएको छ, ‘नेपाल सरकार मातहतका कार्यालयहरू विगतमा शनिवार बिदा दिई आएकोमा हाल नेपाल सरकार मन्त्रीपरिषदको निर्णय अनुसार हप्तामा २ दिन बिदा हुने भएको छ । तर खानेपानी जस्तो शंवेदनशील र उपभोक्ताहरुको दैनिक जीवनसंग प्रतक्ष्य जोडिएको संस्थाको कार्यालय २ दिन बन्द गर्नुपर्दा खानेपानी आपूर्तिमा समस्या हुने र जनजीवन असहज बन्नसक्ने देखिएकोले एक दिनमात्रै बिदा दिइने छ ।’दुई दिनसम्म कार्यालय बन्द हुँदा सो अवधिमा कुनै स्थानमा खानेपानी पाइप लाइनको चुहावट हुन गएमा तत्काल मर्मत संभार कार्य गर्न नसकिने र उपभोक्ताहरू खानेपानी सुविधाबाट बञ्चित रहनसक्ने देखिएकोले विगतमा झै संस्थाको कार्यालय शनिवार मात्र बन्द रहने सूचनामा जनाइएको छ ।

त्यसैगरी अन्य दिनहरू आइतवारदेखि बिहिवारसम्म १० बजेदेखि ५ बजेसम्म र शुक्रवार १० बजेदेखि ३ बजेसम्म नै कार्यालय खुल्ला रहने पनि सूचनामा जनाइएको छ ।संस्थाले एक दिनमात्रै बिदा दिने सम्बन्धि सो सूचनाको बोधार्थ निजगढ नगरपालिका कार्यालयमा पठाएको अध्यक्ष कोइरालाले जानकारी दिनुभयो ।

Leave a Reply